काठमाडौं – गायिका आस्था राउतले सामाजिक सञ्जाल फेसबूकमा लाइभ भिडियोमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले अपमानजनक व्यवहार गरेको आरोप लगाउँदै प्रहरीलाई तथानाम गाली गरेकी थिइन् ।
राउतले हिजो लाइभ भिडियोमार्फत प्रहरीलाई डन्ठे, प्युसा, पुलिस हो कि फुलिस लगायतका शब्द प्रयोग गर्दै गाली गरेकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा भाइरल भएपछि आस्थाले उक्त भिडियो हटाइसकेकी छिन् ।
उनले अर्को स्टाटस लेखेकी छन् -‘रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो, केही शब्दहरूका लागि क्षमा चाहन्छु । प्रशासनको कामहरूप्रति मलाई सधै सम्मान छ, तर सर्वसाधारणहरूसँग बोल्दा तुच्छ व्यवहार नगरियोस्, तँ तँ र म म गर्न बन्द गरियोस् । नैतिक शिक्षाको कमी नरहोस् ।’
उक्त लाइभ भिडियोबारे छानविन गर्न प्रहरी प्रधान कार्यालयका डीआईजी शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई निर्देशन दिइएको बताए । भिडियोको सन्दर्भमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको र भिडियोको विषयलाई लिएर अनुसन्धान गर्न भनेर महानगरीय प्रहरी कार्यालयलाई पत्राचार गरिसकेकाे डिआइजी थापाले बताए ।
आस्था राउतले विमानस्थलमा सुरक्षा जाँचका क्रममा आफूमाथि प्रहरी कर्मचारीबाट ‘तल्लोस्तरको व्यवहार’ गरिएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल प्रहरीको सुरक्षा कार्यालयका प्रहरीले दुव्र्यवहार गरेको राउतको आरोप छ ।































प्रतिक्रिया