सभामुख र उपसभामुख हार्दिकतापूर्वक निर्णय हुन्छ : महासचिव पौडेल

सभामुख र उपसभामुख हार्दिकतापूर्वक निर्णय हुन्छ : महासचिव पौडेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले सभामुख र उपसभामुख विषयमा पार्टीले हार्दिकतापूर्वक निर्णय गर्ने बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको एकताको आइतबारको प्रथम बैठक तथा शपथ ग्रहण समारोहमा उनले सभामुख र उपसभामुखको विषयमा बाहिर देखिएको जस्तो नेकपामा अन्तरविरोध नभएको प्रष्ट पारे । “सभामुख र उपसभामुखको विषयलाई लिएर नेकपामा ठूलो अन्तरविरोध चर्काएर प्वालबाट छिर्ने प्रयास भइरहेको छ”, महासचिव पौडेलले भने, “सभामुख र उपसभामुख चयनका विषयमा हामी छिट्टै हार्दिकतापूर्वक निर्णय गरेर टुङ्ग्याउँछौं ।”

पार्टी एकता भएपछि दुई पार्टीबीचमा एकता भत्काउन सकिन्छ कि भनेर रङ्गीबिरङ्गी आशङ्का गर्ने गरिएको बताउँदै उनले पार्टीलाई अझ दरिलो र बलियो बनाएर लैजाने विषयमा पार्टीले अभ्यास गरिरहेको स्पष्ट गरे । महासचिव पौडेलले सरकारलाई कुनै पनि रचनात्मक कामका लागि सल्लाह सुझाव दिए पुग्ने उल्लेख गर्दै भने “विद्यार्थी सङ्गठनले पहिला जस्तो सरकारका विरुद्ध सडक आन्दोलन गर्नुपर्ने अवस्था छैन, रचनात्मक सुझाव सरकारलाई दिँदा हुन्छ ।”

शैक्षिक सुधारका लागि विद्यार्थी सङ्गठनको महत्वपूर्ण भूमिका छ भन्दै उनले एकीकृत विद्यार्थी सङ्गठनले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा सबै क्याम्पसमा जित्ने गरी लाग्नका लागि अनेरास्ववियुलाई निर्देशन दिए । महासचिव पौडेलले विद्यार्थीको एकता प्रक्रियामा अलि ढिलाइ भए पनि राम्रो समिति आएको बताए । अनेरास्ववियुका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङसहित ३३५ जनाको केन्द्रीय कमिटी रहेको छ । महासचिव पौडेलले सो केन्द्रीय कमिटीलाई पद तथा गोपनीयताको शपथसमेत गराएका थिए ।
रासस

Logo