काठमाडौं । दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनको सफल परीक्षण गरिएको छ । महानगरको वडा २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको ४ इञ्चे फलामे पाइपबाट परीक्षण गरिएको हो । परीक्षणका क्रममा काठमाडौं दमकलबाट साइरन बजाउँदै आएका दमकल जनवहाल चोकमा रोकिए । त्यस चोकबाट करीब १०० मिटरभित्र अग्लो घरको चौथो तलामा धुवाँ आइरहेको थियो । अग्नि नियन्त्रकहरुले मांसगल्लीको मुखैमा छेउमा भएको फलामे पाइप (इनलेट) मा पाइप जोडे । त्यसपछि कुददै गएर अगाडि रहेको गल्लीमा भएको ड्राइराइजर (नियमित पानीको प्रेसर नभएको, दमकलको पानी राखेर प्रयोग गर्नुपर्ने ठाउँ) मा पाइप जोडे । यति गरेपछि दमकलमा भएको पानी १०० मिटर परको सानो चोकमा पुग्यो । यो पानीको प्रयोग गरेर उनीहरुले घरको चौथो तलामा लागेको आगो निभाए । यस क्रममा चोकबाट माथितिर पानी हानिएको थियो भने चौथो तलामै पाइप पु¥याएर पनि आगो नियन्त्रण गरिएको थियो । करीब २०० मिटर लामो यस प्रणालीको बीचका ८ ठाउँमा ड्राइराइडर राखिएका छन् । आगलागीका समयमा आवश्यकताअनुसार उपयुक्त ड्राइराइडरमा आगो नियन्त्रणका समयमा प्रयोग हुने पाइप जोड्न सकिनेछ ।

प्रयोगका समयमा चौथो तलामा आगोबाट घाइते भएका बिरामीलाई अग्नि नियन्त्रकहरुले उद्धार गरेका थिए । उद्धार गरिएका बिरामीलाई भुइँमा पु¥याएर प्राथमिक उपचार गरिएको थियो भने त्यसपछि स्टेचरमा राखेर चोकमा निकालिएको थियो । चोकमा एम्बुलेन्स तयार थिए । बिरामीलाई त्यही एम्बुलेन्समा राखेर थप उपचारका लागि अस्पताल पठाइएको थियो । वडा २५ ले गरेको यो प्रयोगमा स्थानीयले बार्दली र छतबाट अवलोकन गरेका थिए । महानगरको अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाका अनुसार दमकल स्टेशनबाट १ मिनेट ३० सेकेण्डमा दमकल घटनास्थल पुगेका थिएन भने त्यसको ५ मिनेटभित्र आगो नियन्त्रण तथा खोज उद्धार कार्य समाप्त भएको थियो ।
यो प्रणाली नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रबर्धन तथा सहभागिता कार्यक्रमको ५ लाख रुपैयाँ, वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट २ लाख रुपैयाँ, संघ संस्था र उपभोक्ताको २ लाख ४० हजार ६१२ रुपैयाँ गरी कुल ९ लाख ४० हजार ६१२ रुपैयाँमा केल मांसगल्ली उपभोक्ता समितिले जडान गरेको हो । प्रयोग शुरुवात्मा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले इनलेटको मुख खोलेका थिए । मेयर शाक्यसहित भित्री वडाका वडाध्यक्षहरुले प्रयोगको अवलोकन गरे।

अग्नि नियन्त्रण पाइप लाइन प्रयोगको परीक्षणपछि आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख शाक्यले भने— ‘विपद् क्षति न्यूनीकरण र विपद् व्यवस्थापन महानगरको उच्च प्राथमिक काम हो । हामीले हरेक नगर सभामा यसका बारेमा गहन छालफल गर्छौं र आवश्यक नीति बनाउने गरेका छौं । दमकल पुग्ने ठाउँ र दमकल पुग्न नसक्ने दुवै ठाउँको आगो नियन्त्रण गर्न छुट्टाछुट्टै नीति अन्तर्गत काम भइरहेको छ ।’ कार्यक्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले —’महानगर बिपद्का समयमा आवश्यक पर्ने सामाग्री तथा उपकरणलाई वडास्तरमा भण्डारण गर्ने योजना छ । विपत्ति परेका बेला खोज तथा उद्धार र राहतको प्राथमिक कामका लागि कतै जान नपरोस्।’
यो कार्यक्रमलाई भित्री सहरी क्षेत्रमा क्रमशः विस्तार गर्दै लानु पर्छ । कार्यक्रममा वडाध्यक्षका तर्फबाट धारणा राख्दै वडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्यले भने — ‘यस प्रणालीलाई अब क्रमशः अन्य भित्री सहरी ठाउँमा पनि बिस्तार गर्दै लैजानुपर्छ । सबै गल्लीमा दमकल जान नसक्ने भएकोले यसको महत्ब धेरै छ । बिपत्ति सोधेर आउँदैन ।’

कार्यक्रममा धारणा राख्ने क्रममा वडा २५ का अध्यक्ष एवं महानगरको विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले भने— ‘हामी विगतको दुःख चाँडै बिर्सिन्छौं । मान्छेलाई जुनबेला पनि र जस्तोसुकै खालको पनि आपत् आइपर्न सक्छ । अझ भित्री सहर त आगलागीको दृष्टिले अति नै जोखिमपूर्ण छ । अब हामी जोखिक क्षति व्यवस्थापनको कामलाई तीब्र बनाउँछौं । नगरबासीलाई सुरक्षित छौं भन्ने अनुभूति दिलाउँछौं ।’ कार्यक्रममा नेपाल रेडक्रस जिल्ला शाखाका सभापति मथुराम श्रेष्ठले भने — ‘आज परीक्षण गरिएको अग्नि नियन्त्रण पाइपलाइनका बारेमा समीक्षा गरेर आगामी कार्यक्रम अघि बढाउन हामी इच्छुक छौं ।’
स्थानीय स्तरका यी अवस्थालाई पहिचान गरेर सम्भावित जोखिमबाट बच्न र बचाउन सक्ने समुदाय निर्माण, विपद् क्षति न्यूनीकरणको पहिलो उपलब्धी हो । यो उपलब्धीलाई लक्ष्य मानेर महानगरले कार्यक्रम अघि बढाएको छ ।





























प्रतिक्रिया