१२ हजारको इन्डक्सन चुलो ४ हजार रूपैयाँमा पनि बिकेन

१२ हजारको इन्डक्सन चुलो ४ हजार रूपैयाँमा पनि बिकेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले बिजुली उत्पादन पर्याप्त हुँदै गएकोले अब विद्युत् बचत होइन खपत बढाउनु पर्ने बताउँदै आएको छ। केही दिन अघि विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले एक सार्वजनिक कार्यक्रममा मुलुक विद्युतमा आत्मनिर्भरताको बाटोमा गइसकेको भन्दै आउँदो बर्खामा बिजुली निर्यात गर्न सकिने भन्दै आन्तरिक खपत पनि बढाउनु पर्नेमा जोड दिएका थिए। विद्युत् खपत बढाउँदा ग्यास र पेट्रोलको उपभोग कम भई व्यापार घाटा कम गर्नसमेत सहयोग पुग्ने उनको तर्क छ।

प्राधिकरणले गएको दसैं–तिहारभन्दा पनि अहिले बिजुली खपत बढेको र साबिकका उपकरणले धान्नै नसक्ने स्थिति आएको कारण पछिल्ला दिनका बिजुली जाने समस्या आएको दाबी समेत गरेको छ। तर भान्सामा बिजुली प्रयोग दर बढाउने इन्डक्सन चुलोेको प्रयोग सोचेजस्तो बढेको छैन।

तत्कालीन नेसनल टे«डिङ लिमिटेडले २०७२ को अघोषित भारतीय नाकाबन्दीको बेला चीनको सहयोगमा प्राप्त ११ हजार तीन सय थान इन्डक्सन चुलो भित्र्याए पनि बिकेको छैन। सुरुमा १२ हजार मूल्य तोकिएको चुलोको मूल्य लामो समयसम्म बिक्री नभएपछि उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको निर्देशनमा चार हजार कायम गरिएको छ। तैपनि बिक्री सोचेजस्तो नरहेको सम्बद्ध अधिकारी बताउँछन्।

मूल्य घटाएसँगै केही बिक्री बढे पनि अझै सात हजार थान हाराहारी इन्डक्सन चुलो नेसनल ट्रेडिङ गाभिएर बनेको खाद्य व्यापार तथा कम्पनी लिमिटेडमा छ। खाद्यका बिक्री प्रमुख लालमोहन ठाकुर विद्युत् प्राधिकरणको बिजुली खपत बढाउने अभियानसँगै सामान्य बिक्री सुरु भए पनि तुलनात्मक रूपमा कम भएको बताउँछन् । ‘पछिल्लो समयमा हामीले खाद्यान्न तथा चुलोको मोबाइल बिक्री अभियान समेत चलाएका छौं, त्यसले सामान्य बिक्री बढाएका छौं। तर पनि जति हुनुपर्ने हो त्यति बिक्री छैन,’ ठाकुरले भने, ‘एलपी ग्यासको तुलनामा धेरै कम इन्धन खपत हुने भए पनि यसको महत्व उपभोक्ताले बुझ्न नसक्दा आकर्षण कम छ।’ उनी खाद्यले बिक्री वितरण गर्दै आएको चुलो बजारमा दोब्बरभन्दा पनि महँगो पर्ने बताउँछन्। खाद्यले यसको बिक्री बढ्ने अनुमानका साथ थप इन्डक्सन चुलो खरिदको लागि छलफल गरिरहेको ठाकुरको भनाइ छ।
नागरिकबाट

Skip This
Skip This
Logo