ब्रिटेनकी महारानी एलिजाबेथका कान्छा नाति प्रिन्स ह्यारी तथा नातिनी बुहारी मेगन मर्केलले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट आफूलाई अलग्याएको घोषणा गरेका छन् । उनीहरूले अब आफूलाई आर्थिक रूपमा स्वतन्त्र बनाउनका लागि काम गर्ने जानकारी दिएका छन् ।

ड्युक र डचेज अफ ससेक्सको यो घोषणापछि ब्रिटेनको राजपरिवार रुष्ट भएको बताइएको छ ।
प्रिन्स ह्यारी र मेगनले एक बयान जारी गर्दै अब आफूहरूले बिटेन र उत्तरी अमेरिकामा आफ्नो समय व्यतीत गर्ने बताएका छन् ।
बीबीसीले प्राप्त गरेको जानकारी अनुसार ह्यारी र मेगनले यो घोषणाअघि शाही परिवारका कुनै पनि सदस्यसँग सल्लाह नगरेको र उनीहरूको यो निर्णयले शाही परिवार निराश छन् ।
ह्यारी र मेगनको घोषणाले राजपरिवारका वरिष्ठ सदस्यलाई निकै चोट पुगेको बताइएको छ ।
शाही जोडी र राजपरिवारमा मतभेद
बुधबार एक अप्रत्याशित बयानमार्फत् उनीहरूले आफ्नो इन्स्टाग्राम पेजमा दुईले एक महिनासम्म विचार विमर्शपछि उक्त निर्णय लिएको बताएका छन् ।
बयानमा उनीहरूले भनेका छन्, ‘हामीहरू शाही परिवारको वरिष्ठ सदस्यको हैसियतबाट हट्न चाहन्छौं र आफूलाई आर्थिक रूपमा स्वतन्त्र बनाउन काम गर्न चाहन्छौं । तर यति हुँदाहुँदै पनि महारानीलाई हाम्रो समर्थन जारी रहनेछ ।’
उनीहरूले अब आफूहरू ब्रिटेन र उत्तर अमेरिकामा बस्ने जानकारी दिएका छन् । बयानमा उनीहरूले भनेका छन्, ‘यो भौगोलिक रूपमा सन्तुलित स्थानमा हामीलाई शाही तौरतरिकासहित जन्मिएको बच्चालाई पाल्न मद्दत पुग्नेछ । यहाँ हामीले त्यो स्पेस पनि पाउनेछौं जहाँ हामी जीवनको यो नयाँ अध्यायमा केन्द्रित हुन सक्नेछौं र आफ्नो नयाँ परोपकारी संस्था स्थापना गर्ने पनि मौका पाउनेछौं ।’
बीबीसीका शाही संवाददाता जोनी डायमण्डका अनुसार शाही परिवारले आफूहरू ड्युक र डचेज अफ ससेक्सको यो निर्णयले दुःखी छौं भन्नु नै ठूलो कुरा हो ।

डायमण्डले भनेका छन्, ‘खासमा के भयो भन्ने कुरा खासै महत्वपूर्ण होइन, कसरी गरियो भन्ने कुराले चाहिँ महत्व राख्छ । आफूहरूलाई सम्पर्क नगरेको कुराले शाही परिवारलाई निकै दुःखी बनाउनेछ ।’
राजपरिवारका एक प्रवक्ताले भने, ‘ड्युक एन्ड डचेज अफ ससेक्ससँग उनीहरूको यो निर्णयमाथि सुरुवाती कुराकानी भइरहेको थियो । एउटा भिन्न बाटो रोज्ने उनीहरूको इच्छालाई हामी बुझ्न सक्छौं तर यी सबै कुरा निकै जटिल छन्, यो ठीक हुन समय लाग्नेछ ।’
राजपरिवारका पूर्व प्रेस अधिकारी डिक्की आर्बिटरका अनुसार यो निर्णयबाट थाहा हुन्छ कि प्रिन्स ह्यारीले दिमागको साटो आफ्नो मनको कुरा सुनेका छन् ।
आर्बिटरका अनुसार उनका छोरा आर्चीको जन्मपछि मिडियाले जस्तो व्यवहार गरेको थियो, उनले यस्तो निर्णय लिनुको पछाडि यो पनि एउटा कारण हुनसक्छ ।
आर्बिटरले प्रिन्स ह्यारीको यो निर्णयको तुलना सन् १९३६ मा एडवर्ड–८ को त्यो निर्णयसँग गरेका छन् जब उनले दुई पटक सम्बन्धविच्छेद भइसकेकी भेलिस सिम्पसनसँग विवाह गर्नका लागि शाही गद्दी छाडेका थिए ।
प्रिन्स ह्यारीको खर्च र प्रश्न
आर्बिटरले शाही जोडी कसरी आर्थिक रूपमा स्वतन्त्र होलान् भनेर पनि प्रश्न उठाएका छन् ।
उनले भने, ‘ह्यारी कुनै गरिब व्यक्ति होइनन् । तर दुई भिन्न देशमा आफूलाई सेट गर्नु, परिवारको हेरविचार गर्नु र आफ्नो काम पनि गर्न कहाँबाट पैसा आउँछ ?’

शाही जोडीको सुरक्षा कसले गर्छ र उनीहरूको खर्च कसले उठाउँछ भनेर पनि आर्बिटरले प्रश्न उठाएका छन् ।
तर बीबीसीका शाही संवाददाता जोनी डायमण्डका अनुसार शाही जोडीले मनग्य पैसा जोगाएर राखेका छन् । उनका अनुसार प्रिन्स ह्यारीले आफ्नी आमा प्रिन्सेस डायनाबाट अत्यधिक पैसा पाएका थिए र मेगनले पनि एक कलाकारको हैसियतले थुप्रै पैसा कमाएर राखेकी छिन् ।
जोनी डायमण्डका अनुसार ती व्यक्तिका लागि काम गर्न पनि मुश्किल हुनेछ तर अहिलेका लागि हामीले धैर्यपूर्वक हेर्नुपर्छ कि यो नयाँ मोडलले काम गर्छ वा गर्दैन, अनि उनीहरूले शाही परिवारलाई पूर्ण रूपमा त्याग्ने बारे त निर्णय गरेका छैनन् ?
शाही सिंहासनको लाइनमा प्रिन्स ह्यारी छैटौं स्थानमा छन् । उनीअघि प्रिन्स चार्ल्स, प्रिन्स विलियम्स र उनका तीन सन्तान छन् ।

यसअघि प्रिन्स ह्यारीले आफ्ना दाइ प्रिन्स विलियम्ससँग आफ्नो मतभेद भएको कुरा सार्वजनिक गरिसकेका छन् ।
यी दुई दाजुभाइ केन्सिंगटन प्यालेसमा सँगै बस्दथे तर सन् २०१८ मा प्रिन्स ह्यारी उक्त महलबाट अलग्गिएका थिए र विन्डसरमा आफ्नो नयाँ महल बनाएका थिए ।
सन् २०१९ मा यी दुई दाजुभाइ एउटा च्यारिटीबाट पनि अलग्गिएका थिए जुन दुवैजनाले मिलाएर चलाउँथे । एजेन्सी































प्रतिक्रिया