नेपाल इन्टरनेशनल फिल्म फेष्टिवल (निफ) को आयोजना र सफलतासँगै यसका प्रमुख केपी पाठकको परिचय नै फेरिएको छ । उनको नेतृत्वमा यो फेष्टिभल तेस्रो पटक (फ्रेबरी १३–१७ सम्म) आयोजना हुँदैछ । एकल प्रयासमा यति ठूलो फेष्टिवल गर्ने पाठक पहिलो नेपाली फिल्मकर्मी हुन् ।
केपी पाठक खासमा चलचित्र निर्देशक हुन् । उनले निर्देशन गरेको चर्चित चलचित्र हो, ‘मैना’ । उनी निर्देशकहरुको संगठन ‘निर्देशक समाज’का पनि सफल अध्यक्ष हुन् । कम्युनिष्ट पार्टीमा धेरैअघिदेखि संलग्न र सक्रिय पाठक हिजोआज ‘क्रिएटिभ’कार्यमा मात्र लाग्न रुचाउँछन् । त्यसैले आफ्नै पार्टीको सरकार रहेकाबेला र चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सी खाली रहेकाबेला पनि उनले वास्ता गरेका छैनन् । चलचित्र विकास बोर्डको अध्यक्षकालागि गर्ने ‘लबिङ’मा उनको निस्कृयता किन ? प्रस्तुत छ, यसै विषयमा बरिष्ठ चलचित्रकर्मी पाठकसँग केन्द्रबिन्दुकर्मीले गरेको ५ प्रश्न: –
१. चलचित्र विकास बोर्डको अध्यक्षकालागि दौडधुप भइरहेको छ । तर, तपाईंको सक्रियता देखिदैन, किन ?
– म योग्य छु कि छैन भनेर मैले भन्दै हिड्ने होइन । पार्टीको संगठन र विधीले पहिचान गर्ने हो । अर्को कुरा विकास बोर्डको अध्यक्ष राजनीतिक नियुक्ति हो कि होइन भन्ने कुरामा पनि म ‘कन्फ्यूज’ छु । राजनीतिक नियुक्ति हो भने मैले कसैलाई केही भनिरहनु नपर्ला ।
२. सञ्चारमन्त्री ‘फेभर’मा नभएको हुनाले सक्रिय नहुनुभएको हो कि ?
– त्यस्तो हुँदै होइन । म बिकास बोर्डको नेतृत्व छनौट हुने प्रक्रियामा नै छैन । सञ्चार मन्त्रालयमा आवेदन दिनु पर्छ । चलचित्र विकास सम्बन्धी ‘प्रिजिन्टेशन’ दिनु पर्छ । त्यसको जाँच सहसचिव ज्यूले लिनुहुन्छ । उहाँकै तजबिजलाई सायद मन्त्री ज्यूले ‘ओके’ गर्नुहुन्छ । अर्थात पास–फेल गर्ने काम एकजना सहसचिव स्तरका कर्मचारीले गर्नुहुन्छ । जसलाई मैले स्वीकार्न सकेको छैन ।
३. चलचित्र विकास बोर्डको अध्यक्ष छनौट गर्ने यो विधि राम्रो होइन र ?
– यो विधि तत्कालै फेर्नु पर्छ । विकास बोर्डको अध्यक्ष राजनीतिक नियुक्ति हो भने त्यसलाई सोही मुताबिक लैजानु पर्छ । यसको नेतृत्वमा जाने मानिस त बौद्धिक क्षमता भएको, सबैलाई समेटेर नेतृत्व गर्न सक्ने आदि गुण भएको हुनुपर्छ नि ! समग्रमा चलचित्र क्षेत्रलाई हेर्ने भिजन स्पष्ट भएको फिल्मकर्मी हुनुपर्छ । यहाँ त स्नातक उतीर्ण भएको चाहिन्छ भन्ने नियम छ । त्यसोभए फिल्म कलेजको विद्यार्थीलाई बोर्डमा लगेर राखिदिए भैगो नि ! रयो ‘कन्सेप्ट’को कुरा । त्यो त कसैलाई लेख्न लगाएर पनि पेश गर्न सकिन्छ । अर्को कुरा पेश गरेको ‘कन्सेप्ट’ लागु गर्ने हैसियत सम्बन्धितसँग छ कि छैन ? विगतलाई नियाल्नु भयो भने पनि यसको गतिलो ‘एन्सर’ भेट्नुहुन्छ ।
परीक्षा नै लिने हो भने निश्पक्षताकोलागि लोकसेवा आयोगलाई दिनु पर्छ भन्ने मेरो मान्यता हो । लोकसेवाले परीक्षा लिन्छ भने म अध्यक्षमा प्रतिस्पर्धा गर्न तयार छु ।
४. सहसचिवले लिने परीक्षामा तपाईंको आपत्ति हो ?
– यस सम्बन्धमा मलाई धेरै बोल्न मन छैन । तर, एकजना लोकसेवा पास गरेर आएको कर्मचारीले चलचित्रलाई कति बुझेको हुन्छ ? उसले कसरी कसी लगाउँछ ? हो, मलाई छनौट विधी नै ठीक लागेको छैन । यस्तो विधिलाई सच्चा र इमान्दार चलचित्रकर्मीहरुले सही मान्दैनन् । रहर हुने, पदमा विश्वास भएका र विकाश बोर्डमा फोटो झुण्ड्याउन चाहानेहरुलाई मात्र यो विधि सही लाग्ला । यो भन्दा राम्रो विज्ञ समूह बनाएर छनौट गरे हुन्छ ।
५. त्यसोभए तपाईं चलचित्र विकास बोर्डको अध्यक्ष कहिल्यै नहुने हुनुभयो होइन ?
– कसैको ‘निगाहा’ले दिने पदको अपेक्षा मलाई कहिल्यै भएन । त्यसमा पनि चार बर्षदेखि म एउटा अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलको आयोजनामा नै ब्यस्त हुँदै आएको छु । विश्व वजारमा हाम्रा चलचित्रलाई कसरी लैजाने भन्ने सम्बन्धमा म सोचमग्न छु र सक्रिय छु । बोर्डको अध्यक्षमा मलाई कुनै लोभ छैन ।





























प्रतिक्रिया