काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संस्थापनइतर समूहका शीर्ष नेताहरूले पार्टी सभापतिले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै त्यसविरुद्ध एक हुन जिल्ला सभापतिहरूलाई आग्रह गरेका छन् । पार्टी कार्यालय सानेपामा सोमबारदेखि सुरू भएको जिल्ला सभापतिहरूको भेलामा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले एकलौटी ढङ्गले निर्णय गरी चौधौं महाधिवेशनलाई प्रभावित गर्न खोजेको बताए । उनले पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिबारे परामर्श गर्न जिल्ला सभापतिहरूको भेला बोलाइएको स्पष्ट पारे । पौडेलले महासमिति बैठक सम्पन्न भएको एक वर्ष नबित्दै पार्टी सभापतिले विधानको ब्यवस्था निलम्बन गरेर आफ्ना मान्छे नियुक्त गर्ने प्रक्रिया अघि बढाएको उल्लेख गरे । विभागको संख्या थप्ने तथा विधानको व्यवस्था निलम्बन गर्नु महाधिवेशनलाई प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको पौडेलको जिकिर गरे । आफूहरूसँग भएको छलफल सहमति पुग्न लाग्दा सभापतिले एकपक्षीय निर्णय गर्ने गरेको उल्लेख गर्दै पौडेलले भने–“बैठक हामीले बहिस्कार गरेको भन्दापनि सभापति आफैंले हामीलाई बहिस्कार गर्नुभएको हो ।”
सभापति भेलामा उपस्थित भएका महामन्त्री शसांक कोइरालाले पार्टी सभापतिले पार्टी एकजुट बनाउनेतर्फ ध्यान नदिएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, “मेरो चिन्ता पार्टी एकजुट होस् भन्ने हो, तर सभापतिले त्यसतर्फ ध्यान दिनुभएको छैन ।” पुर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिले दुईपक्षबीचको छलफल सहमति नजिक पुग्दै गरेका बेला एकतर्फि निर्णय गर्ने गरेको भन्दै पार्टी एक होस् भन्ने चाहना सभापतिमा नरहेको बताए ।
आजको भेलामा मोरङ्गका जिल्ला सभापति डीक बहादुर लिम्बु, झापाका सभापति उद्धव थापा, तनहुँका सभापति बैकुण्ठ न्यौपाने, कास्कीका सभापति कृष्ण केसी लगायत १४ जना जिल्ला सभापतिहरूले आफ्ना धारणा राखेको केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए । भेलामा डडेल्धुराका सभापति कर्ण मल्ल पनि सहभागी भएका थिए । झपाका सभापति थापाले चौधौं महाधिवेशनका लागि सभापतिको नाम तोकेरै अघि बढ्नु पर्ने धारणा राखे । उनले भने, “उनीहरू (संस्थापन पक्ष)ले पार्टी सभापति शेरबहादुर देउवालाई नै पूनः सभापति बनाउने गरी अघि बढेको सन्दर्भमा हामीले पनि हाम्रो तर्फबाट एकजना सभापति तयार गर्नुपर्छ ।” आफूहरू अहिले नीतिगत लडाईमा रहेको भन्दै थापाले निर्णय सच्याउन नेतृत्वलाई दवाब सृजना गर्नुपर्ने धारणा राखे ।
जिल्ला सभापतिहरूको भेला मंगलबार विहान ११ बजे पुनः बस्दैछ ।





























प्रतिक्रिया