काभ्रेको मण्डनदेउपुरमा विप्लव माओवादीद्वारा ९५० रोपनी जग्गा कब्जा

काभ्रेको मण्डनदेउपुरमा विप्लव माओवादीद्वारा ९५० रोपनी जग्गा कब्जा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका साबिक महादेवस्थान–९ स्थित दनुवार समुदायको ९ सय ५० रोपनी जग्गा नेकपा विप्लव माओवादी काभ्रेले कब्जा गरेको छ । सरकारीकरणको बहानामा खोसिएको दनुवार समुदायको जमिन फिर्ता नहुँदासम्म कब्जा गरिने भन्दै विप्लव माओवादीले विज्ञप्ति निकालेको हो ।

विगतमा दनुवार समुदायका विभिन्न व्यक्तिका नाममा रहेको र पूर्जाको प्रमाणपत्र रहेको जग्गा, खोलाको बगरको बहानामा जबर्जस्ती सरकारीकरण गरिएको भन्दै ब्यानर टाँगी कब्जाको घोषणा गरेको विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्ति जारी गर्दै २०३१ सालमा सर्भे नापी हुँदाको बखत आवश्यक जानकारी र सोधपुछबिना दर्ता भएको कमजोरीलाई सच्याउनुको सट्टा व्यक्ति र सरकारको नाममा दोहोरो स्रेस्ता गराई अन्तमा जबर्जस्ती दनुवार समुदायलाई उठीबास गराई सरकारको नाममा ल्याएको भन्दै तत्काल सो जग्गा फिर्ता नगराएसम्म कुनै पनि हालतमा नछोड्ने विज्ञप्तिमा जनाएको छ ।

‘कित्ता नम्बर ९१६, ९१७ र १२५० जग्गा विगतमा दनुवार समुदायको विभिन्न व्यक्तिको नाममा रहेको यथेस्ट प्रमाण रहेको छ । सुरुमा नापी गर्ने, कर्मचारीको त्रुटि भए पनि गणतन्त्र आएपछिको अवधिमा समेत तत्कालीन प्रमुख जिल्ला अधिकारी सुधीरकुमार शाह, नापी अधिकृत मालपोत अधिकृत, प्रहरी प्रशासन, न्यायालय, ढुंगा गिटी बालुवा माफियाको ठूलो आर्थिक लेनदेन र संलग्नतामा व्यक्तिको नाममा रहेको जग्गा खोसिएको विज्ञप्तिमा जनाएको छ ।

दनुवार जातिले पहिला किपट पाएको र वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा २०७१ पुस २१ गतेको उत्प्रेषण आदेश र २०७१ कार्तिक २ को अदुअ आयोगको दोहोरो स्रेस्ता खारेज गर्ने निर्णयपश्चात् पनि जग्गा धनी लालपुर्जाको माग राखी पटकपटक आन्दोलन गर्दासमेत न्याय नपाएकाले कब्जा गर्नुपरेको विज्ञप्तिमा जारी गरेको छ ।

नेकपाले निकालेको अपिलमा सबिक महादेवस्थान–९ स्थित कित्ता नम्बर ९१६ को ३६३–२–१–०, कित्ता नम्बर ९१७ को ३१२–८–१–१ र कित्ता नम्बर १२५० को २६८–४–१–१ रोपनी जग्गाको लालपुर्जा पीडित दनुवार समुदायका व्यक्तिले पाउनु पर्ने तत्कालीन प्रमुख जिल्ला अधिकारी, नापी र मालपोत अधिकृत र भूमाफियालाई कारबाही गर्नुपर्ने माग गरी कब्जा गरिएको ठाउँमा गिट्टीबालुवा निकाल्न बन्द गर्ने र वर्षौंदेखि उत्खनन तथा बिक्री हुँदै आएको ढुंगा, गिटी र बालुवाको करमा प्रमुख स्वयंको संलग्नतामा भएको भ्रष्टाचार छानबिन गर्नसमेत माग राखेको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo