वीरेन्द्रनगर ।
कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । बिहीबार अपरान्हदेखि कर्णालीको प्रदेश राजधानी सुर्खेतका उच्च पहाडी क्षेत्र, दैलेख, जुम्ला, कालीकोट, हुम्ला, मुगु, जाजरकोट, डोल्पा, रुकुमपश्चिम र सल्यानमा लगातार हिमपात भइरहेको छ। जिल्लाका पहाडी क्षेत्रमा भने वर्षा भएको थियो।
हिमपातसँगै कर्णालीको जनजीवन कष्टकर भएको छ। विद्यार्थीहरू विद्यालय जान सकेनन् भने सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीहरू पनि कमै पुगे । सडक सञ्जालसँग नजोडिएको हुम्लालगायत कर्णालीका जिल्लाको हवाई सेवा पनि अनियमित भयो, जसले गर्दा कर्णाली आउने र जाने यात्रु गन्तव्यसम्म पुग्न सकेनन् ।
मुगु जिल्लाको पूर्वी करान भेगका नौ वटै वडा, खत्याड गाउँपालिकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा, कोटिल्लालगायत, सोरुगाउँपालिकको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालिको रारा, ताल्चा विमानस्थल, बामशोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी रोवा लगायतका स्थानमा एक फिटसम्म हिउँ जमेको छ।
चिसोले दुई जनाको मृत्यु
जंगलबीचको सानो झुपडीमा १४ वर्षीय पीपल शाही परिवारसहित सुते । बिहान उठ्दा सबै उठे तर पीपल उठेनन् । कारण, ‘चिसोले उनको मृत्यु भइसकेको थियो ।’ उनी मात्र होइन चिसोकै कारण पुस ९ गते राति हर्कबहादुर शाहीको चार महिने छोरा जंगबहादुरले पनि ज्यान गुमाए ।
पछिल्लो समय अत्यधिक चिसो बढेपछि जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका दुई बालकको मृत्यु भएको छ। दुई बालकको मृत्यु भएपछि राउटे बस्ती शोकमा डुबेको छ। दर्जनौं राउटे बिरामी भएका छन् । ‘साँझ सामान्य अवस्थामा सँगै सुतेका थिए,’ राउटे बस्तीका छिमेकी भरतबहादुर शाहीले भने, ‘बिहान मृत्यु भएछ ।’ चिसोमा न्यानो कपडा र पोषिलो खाने कुरा नहुँदा उनीहरू चिसोबाट ज्यान समेत गुमाउन बाध्य छन्। राउटे बालबालिकामा पोषण समस्या हुँदा पनि चिसोमा उनीहरूलाई झनै ठूलो समस्या हुने सामाजिक सेवा केन्द्रका संस्थापकअध्यक्ष हिरासिंह थापाले जनाए। ‘उनीहरूमा पहिला कुपोषण हुन्छ,’ उनले भने, ‘त्यसैले उनीहरू चिसो पचाउन सक्दैनन्।’
अहिले यहाँबाट राउटे बस्ती सर्ने तयारी गरेको राउटे बस्तीका छिमेकी भरतबहादुर शाहीले बताए । २२ वर्षीय कपिल शाही चार वर्ष अगाडि आगोमा पोलिएका थिए । अत्यधिक चिसो भएपछि आगो ताप्दै गर्दा उनी जलेका थिए। ‘अत्यधिक चिसो हुँदा हामीलाई गाह्रो हुन्छ,’ आगो ताप्दा जलेका कपिलले भने, ‘न्यायो लगाउने, ओड्ने र ओछ्याउने नहुँदा समस्या छ।’ हाल यहाँ ४६ घरपरिवार राउटे बस्ती छ।
नागरिकबाट































प्रतिक्रिया