राष्ट्रिय घोडचढी प्रतियोगिता अर्को साता

राष्ट्रिय घोडचढी प्रतियोगिता अर्को साता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल घोडचढी संघको आयोजनामा छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता पुस २५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा टेन्ट पेगिङ, शो जम्प र हाइजम्पमा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष रवि राजकर्णिकारले जानकारी गराए । २० पुरुष र ६ महिला गरी २६ राइडर एकदिने प्रतियोगितामा सहभागी हुनेछन् । महिला खेलाडीको भने प्रतिस्पर्धा नभइ प्रोत्साहनका लागि स्पर्धा राखिएको आयोजकले जनाएको छ ।

पुरुषतर्फ तीनै विधामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको पुरस्कार राशी समान राखिएको छ । पहिलोले २० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाउने छन् । महिलामा सहभागी सबैलाई जनही ५ हजार पुरस्कार प्रदान गरिनेछ ।

पत्रकार सम्मेलनमा घोडचढी संघ र तीन फरक संस्थासंग प्रायोजन सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर भयो । संघका अध्यक्ष कर्णिकार, टिभीएसका सेल्स एन्ड विजनेश डेभलोप्मेन्टका जीएम दिपकप्रसाद रौनियार, कतार एयरवेजका सेल्स म्यानेजर सारिका बोगटी र मित्सुविसी र लिओन मोर्टसका प्रतिनिधि निभा सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । प्रायोजन वापत कतार एयरले नेपालदेखि जुनसुकै देशका लागि आउने जाने २ थान हवाइ टिकट संघलाई विक्री गर्न दिने भएको छ । बाँकी दुई संस्थाले संघलाई समान २–२ लाख प्रायोजन गर्ने भएका छन् ।

Logo