विपीको मेलमिलाप नीति र कांग्रेसको भद्रगोल राजनीति

विपीको मेलमिलाप नीति र कांग्रेसको भद्रगोल राजनीति

केन्द्रबिन्दु
0
Shares

आज ४४ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस । वि.सं. २०३३ साल पुस १६ गतेका दिन नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइराला मेलमिलापको नीति बोकेर भारतबाट स्वदेश फर्केको दिनलाई राष्ट्रिय एकता र मेलमिलाप दिवसको रूपमा मनाउने गरिन्छ ।

भारतमै बसेर नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका विपी कोइराला मुलुकलाई अन्तर्राष्ट्रिय हस्तक्षेपबाट जोगाउनुपर्छ भन्दै एकाएक राष्ट्रिय मेलमिलापको नीति बोकेर स्वदेश फर्किनुभएको थियो । प्रवासमा रहेका गणेशमान सिंहसहित स्वदेश फर्केका विपीलाई विमानस्थलबाटै सुन्दरीजल बन्दी गृह लगिएको थियो ।

त्यसबेला फाँसीको सजायसम्म हुन सक्ने गरी विपीमाथि लगाइएका देशद्रोहका मुद्दाहरू कायमै थिए । त्यस्ता मुद्दाहरूको समेत पर्वाह नगरी राष्ट्रिय मेलमिलापलाई उच्च प्राथमिकतामा राखेर आफ्ना संस्थापक नेता स्वदेश फर्केको दिनलाई आजसम्म पनि नेपाली कांग्रेसले राष्ट्रिय एकता र मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ ।

देशद्रोहका मुद्दा कायमै रहँदा समेत विना शर्त स्वदेश फर्कने उति बेलाका विपी कोइराला अनि स्वार्थको शर्तहरूमा अल्झिरहेका अहिलेका कांग्रेस नेताहरू । प्रमुख प्रतिपक्षीको भूमिकामा दयनीय देखिएको कांग्रेस नेतृत्व यतिबेला चौधौं महाधिवेशनबाट नेतृत्व हत्याउने दाउमा तल्लीन छ । २ सय ७५ सीट रहने प्रतिनिधि सभामा ६३ सीटमा सीमित नेपाली कांग्रेस ४ वटा खेमामा विभक्त छ ।

वैचारिक छलफल शून्यप्रायः रहेको कांग्रेसभित्र कुन भ्रातृ संगठनको नेतृत्व कुन खेमालाई दिने, विभाग गठनमा कसको कति प्रतिशत भागबण्डा रहने, कसले कति क्रियाशील सदस्यता हात पार्ने लगायत महाधिवेशन केन्द्रित राजनीति व्याप्त छ । संस्थापन र असन्तुष्ट पक्षबीच स्वार्थमा सहमति हुन नसकेपछि संस्थापन पक्षले बहुमतको बलमा एकतर्फी निर्णय गरेर अघि बढ्दा असन्तुष्ट पक्ष रुष्ट छ । आफ्ना संस्थापक नेताको मेलमिलापको नीति मनाउने दिन कांग्रेस आन्तरिक कलहबाट ग्रस्त छ ।

प्रतिनिधि सभामा १ सय ७४ सिटसहित सुविधाजनक बहुमतमा रहेको नेकपाको बलियो सरकारको निगरानी गर्न प्रतिपक्ष पनि सशक्त हुन आवश्यक छ । तर प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस अन्य प्रतिपक्षी दलहरूलाई लिएर अघि बढ्नु त परको कुरा पार्टीभित्रै रहेको विमतिको समेत समाधान खोज्न सकिरहेको छैन । संसदीय लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्ष कमजोर रहँदा सत्तापक्षको मनोमानीले बढावा पाउँछ । बहिस्कार र बहुमतका बीच महाधिवेशन केन्द्रित राजनीतिमा अल्झिरहेको कांग्रेस नेतृत्व लोकतन्त्रका मूल्य मान्यताको रक्षाभन्दा बढी पार्टी नेतृत्व कसरी हत्याउने भन्ने चिन्तामै व्यस्त देखिन्छ ।

Skip This
Skip This
Logo