काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी क्षेत्रमा नापनक्सा गर्न गएको नापी विभागको टोलीलाई भारतले रोकेको बताएकि छिन् ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा मन्त्री अर्यालले यस्तो बताएकि हुन् । भारतले रोक लगाएसँगै नाप नक्साको काम स्थगित भएको छ । कुटनीतिक तहबाट कुरा गरी समाधान निस्केपछि काम अगाडी बढाउने उनले बताइन् । मन्त्री अर्यालले अहिलेसम्मको कुनै पनि नेपाली नक्सामा लिम्पियाधुरा नसमेटिएको बताइन् । कालापानी र लिपुलेक नेपाली नक्सामा अहिले पनि रहेको र लिम्पियाधुरासहित नक्सा अहिलेसम्म प्रकाशनमा नआएको उनको भनाइ थियो ।
समिति बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नक्साको सन्दर्भमा भूमि व्यवस्था मन्त्री अर्यालले सोझो जवाफ नदिएको बताए । अन्य समिति बैठकमा समेत धेरैपटक प्रश्न गर्दा स्पष्ट जवाफ नआएको उनले बताए ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनको जग्गा प्रयोग गर्न निश्चित विधि भएपनि सुरक्षा पोष्ट स्थापनाको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा राखेको बताए । उनले कालापानी, कञ्चनपुर र कञ्चजङ्घा गरी तीन क्षेत्रमा सुरक्षा पोष्ट स्थापनाका लागि जग्गा उपलब्ध भएको बताए । बैठकमा समिति सदस्यहरुले सन्धी सम्झौताहरुले समेत नेपाली भूमि हो भनेर देखाएपछि नक्सा जारी गर्न किन गाह्रो भन्दै प्रश्न गरेका थिए ।































प्रतिक्रिया