साहित्य महोत्सवले नेपाललाई फरक कोणबाट चिनाउन मद्दत गर्नेछ – भीष्म उप्रेती

साहित्य महोत्सवले नेपाललाई फरक कोणबाट चिनाउन मद्दत गर्नेछ – भीष्म उप्रेती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । साहित्यकार भीष्म उप्रेती विशेषतः कवि तथा नियात्राकार हुन् । उनले नेपाली साहित्यलाई थुप्रै कृति दिइसकेका छन् । उनको संयोजकत्वमा अहिले काठमाडौंमा तीन दिने अन्तर्राष्ट्रिय साहित्य सम्मेलन २०७६ आयोजना भइरहेको छ । त्यसै विषयमा केन्द्रित रहेर उप्रेतीसँग केन्द्रविन्दुका लागि दीपक दर्शनले कुराकानी गरेका छन् ।

१. साहित्य महोत्सव आयोजना गर्दै हुनुहुन्छ, यो कस्तो खालको महोत्सव हो ?
यो एक इन्टरनेशनल लिटरेचर फेस्टिबल हो । यसमा नेपालबाहेक विभिन्न ९ देशका २२ भन्दा बढी कवि तथा साहित्यकारहरूको सहभागिता रहनेछ । र, उनीहरू आफ्नै खर्चमा विशुद्ध साहित्यिक कार्यक्रममा साहित्य क्षेत्रका विविध आयाम केलाउन नेपाल आउँदै छन् । साहित्य क्षेत्रमा भइरहेका गतिविधिलाई देखाउन यो महोत्सवले मद्दत गर्नेछ । यसले नेपालको साहित्यिक क्षेत्र कुन स्थानमा छ र साहित्यले कस्ता विषयलाई समेटिरहेको छ भन्ने कुरा थाहा पाउन सजिलो हुन्छ । यस्तो खालको कार्यक्रम नेपालमा पहिलो पटक भएको हो ।

२.कार्यक्रम आयोजना गर्नुको मूल उद्देश्य के हो ?
फरक भाषा, फरक संस्कृति एवं परम्परा तथा फरक कला एवं अनुभूतिको प्रस्तुतिलाई साझा मञ्च प्रदान गर्नु हो । साथै नेपाली साहित्य तथा अन्य विभिन्न विदेशी साहित्यका बीचमा अन्तरक्रिया, छलफल, आदानप्रदान तथा सम्पर्क स्थापनाका लागि मद्दत पुगोस् भन्ने आशयसहित यो कार्यक्रम आयोजना गरिएको हो ।

३.यस्तो कार्यक्रम पहिलो पटक हुन लागेको भन्नु भो, कसरी ?
नेपालमा यसअघि भएका साहित्यिक महोत्सवभन्दा केही अर्थमा यो फरक छ । एक त यो इन्टरनेशनल लिटरेचर फेस्टिबल हो । यसमा विभिन्न ९ देशका करिव २२ भन्दा बढी लेखक साहित्यकारको सहभागिता रहनेछ । अर्को उनीहरू आफ्नै खर्चमा आउँदै छन् । अर्को कुरा ‘महिला लेखन : के यो पर्खाललाई भत्काउन पर्याप्त छ ?’ र ‘आजको साहित्यले समाजलाई कसरी लेखिरहेको छ ?’ भन्ने दुईवटा विषयमा प्यानल छलफल हुँदै छ । साथै नाम नसुनिएका तर प्रतिभावान् युवा लेखकहरूलाई लेखकका रूपमा ल्याउन तथा उनीहरूको पुस्ताको भावनालाई बुझ्न युवापुस्तालाई स्थान दिने सेसन पनि राखिएको छ । यी सबै कारणले गर्दा यो कार्यक्रम यसअघिका महोत्सवहरूभन्दा फरक छ र यस्तो प्रकृतिको कार्यक्रम नेपालमै पहिलो पटक हुन लागेको हो भन्न सकिन्छ ।

४. यो महोत्सवको औचित्यमाथि प्रश्न गरियो भने के भन्नुहुन्छ ?
खासमा कला र साहित्य भनेका त्यस्ता कुरा हुन् जसको औचित्यमाथि प्रश्न नै गरिँदैन । यो सभ्य समाजको बौद्धिक स्तर मापन गर्ने तथा सामाजिक संवेदनाको नाडी छाम्ने अचुक माध्यम हो । यस्ता खालका महोत्सवले प्राज्ञिक, साहित्यिक तथा विद्यार्थी वर्गमा समेत सकारात्मक विचार एवं मानवीयताको अभिवृद्धिमा सहयोग पुग्छ । बौद्धिक सम्पत्ति एवं साहित्यिक निधिलाई पुस्तान्तरण गर्न सहयोग मिल्छ ।
नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना भएको यस्तो कार्यक्रमले उक्त अभियानलाई समेत ठूलो मद्दत गर्ने निश्चित छ । विदेशी पाहुनाहरूलाई काठमाडौंको धार्मिक तथा सांस्कृतिक महत्वका स्थानहरूको समेत भ्रमण गराइने हुँदा त्यसले पर्यटनमा टेवा दिन्छ ।
महोत्सवले मानिसहरूमा भावना भर्ने काम गर्छ । जीवनको अर्थ खोजी गर्छ र संवेदनशील मानिसहरूको जमात बढ्ने हुँदा समाजमा हुने विकृतिहरू घट्न मद्दत पुर्‍याउँछ । सभ्यताको समेत निर्माण गर्न सहयोग पुग्छ । हाम्रा संस्कृति र परम्पराहरू विश्वभर चिनाउन सकिन्छ । यस्ता फेस्टिबलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्ड बनाएर लैजान सकियो र प्रत्येक वर्ष काठमाडौंमा यस्तो हुन्छ भन्ने सन्देश अन्तर्रराष्ट्रिय जगतमा गयो भने त्यसले काठमाडौं शहर तथा नेपालको छबी विस्तार गर्न पनि मद्दत नै गर्छ ।

५. यस्तो कार्यक्रम गर्ने सोच कसरी आयो अनि खर्चको स्रोत कसरी जुटाउनुभयो ?
खासमा यो मेरो रुचिको क्षेत्र हो । साहित्य समाजको परम्परा, सोच र संस्कारबाट बन्छ । सभ्यताको निर्माण संस्कृतिबाट नै हुन्छ । तसर्थ अन्तर्राष्ट्रिय व्यक्तित्वहरू ल्याएर उनीहरूसँगको अन्तक्र्रियाबाट एउटा नयाँ विचारको बीज सिर्जना गर्न सके समाजलाई केही अर्थमा सहयोग गर्न सकिन्छ भन्ने लागेर यो गर्न लागिएको हो ।
खर्चको स्रोतका कुरा गर्दा लेखक साहित्यकारहरू आफ्ने खर्चमा आउने हुँदा त्यति धेरै खर्च हुँदैन । नेशनल कलेज आयोजक हो । फेरि मुख्य कार्यक्रम आयोजनास्थल एलिस रिसेप्सन, गैरीधाराले पनि केही छुट दिएको छ भने नेपाल टुरिजम बोर्ड तथा विभिन्न वाणिज्य बैंकहरूको सहयोग यसमा छ ।

Logo