काठमाडौं ।
‘बलि’का लागि काठमाडौंबाट भारत लैजाँदै गरिएकी एक किशोरीको नेपाल–भारत सीमाक्षेत्र जोगवनी आसपासबाट सकुशल उद्धार गरिएको छ। झापा घर भएकी ती किशोरीलाई ‘मोडल’ आवश्यक परेको भन्दै झुक्याएर भारततर्फ लगिँदै थियो। किशोरी पक्राउ परेलगत्तै प्रहरीले चार जनालाई मोरङ र दुईजनालाई काठमाडौंबाट पक्राउ गरी अनुसन्धान थालेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा प्रेममाया तामाङ, दिलकुमारी बुढामगर, उमेशकुमार माझी, दिलीप पोद्दार, कृष्ण तामाङ र उमेश साह रहेको प्रहरी स्रोतको भनाइ छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले ६ जना पक्राउ परेको पुष्टि गरे। ‘किशोरीको उद्धार गरिएको छ। पक्राउ परेकाहरूबारे अनुसन्धान हुँदैछ,’ उनले भने। पक्राउ पर्नेमा दुईजना पति–पत्नीसमेत रहेको बताइएको छ।
काठमाडौं बस्दै आएकी ती किशोरीले ६ महिनादेखि बानेश्वरस्थित फेसन डिजाइन सम्बन्धी पसल खोलेर बसेकी एक महिलासँग सम्पर्क बढाएकी थिइन् । त्यही महिलामार्फत उनी बलिका लागि मान्छे भारत लैजानेहरूको सम्पर्कमा पुगिकी हुन् । ‘भर्खर भर्खर मोडलिङ थालेकी किशोरी रहिछन् । भारतमा गई मोडलिङ गर्न तयार भइछन् । त्यसपछि पटकपटक अन्तर्वार्ता दिने क्रममा शंका लागेपछि उनी प्रहरीको सम्पर्कमा आएकी हुन्,’ स्रोतले भन्यो । ती किशोरीले पुस २ गते प्रहरीमा उजुरी दिएकी हुन् । त्यसपछि मात्रै परिसरले प्रहरी निरीक्षकको कमान्डमा अप्रेसन चलाएको थियो।
बलिका लागि मान्छे भारत लानेहरूले ६ फिट उचाइ भएकी युवती चाहिएको बताएका थिए । आफ्नो उचाइ करिब ६ फिट भएकाले ती किशोरीले उनीहरूलाई सम्पर्क गरेकी थिइन् । राम्रो पैसा र पेसा दुवै पाइने भएपछि ती किशोरी भारत जान पनि तयार भएकी थिइन्। पहिलो अन्तर्वार्तामा उनलाई विभिन्न धर्मबारे प्रश्न गरिएको थियो। दोस्रो अन्तर्वार्ताका प्रश्नहरू खानपानतर्फ केन्द्रित थिए। उनीहरूले तेस्रोपल्ट पारिवारिक सम्बन्ध र महिनावारीबारे प्रश्न गरेका थिए।
मोडलिङका लागि लाने भन्ने तर धर्म र महिनावारीबारे सोधेपछि ती किशोरी सशंकित भई प्रहरीकहाँ पुगेकी थिइन्। ‘जब उनी भारत जान तयार भइन्, त्यसपछि उनीहरूले कालो लुगा लगाएर परीक्षणसमेत गरे,’ स्रोतले भन्यो, ‘विभिन्न तन्त्रमन्त्रसमेत गरेको पाइयो। महिलालाई तान्त्रिक विधिका माध्यमले मन्त्र र पूजापाठमा संलग्न गराइएको समेत देखिएको छ।’
नागरिकबाट































प्रतिक्रिया