काठमाडौं ।
चिलीमा भएको इन्टरपोलको ८८ औँ महासभा बैठकमा नेपाल र चीनका प्रहरी अधिकारीबीच दुई देशमा हुने अपराधलाई नियन्त्रण गर्न भएको छलफल अनुसार निगरानी गर्दा साइबर अपराधमा सङ्लग्न १२२ चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार पत्रकार सम्मेलन गरी साइबर अपराधमार्फत आफ्नै देशका धनी मानिस र एकल महिलालाई अनलाइनमा लगानी गर्दा धेरै नाफा हुन्छ भन्दै प्रलोभनमा पारेर ठूलो रकम ठगी गर्ने १२२ जनालाई पक्राउ गरेको जानकारी दिइएको हो । पक्राउ पर्नेमा ११४ पुरुष र ८ महिला छन् ।
सम्मेलनमा ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले इन्टरपोलको बैठकमा भएको छलफललाई आधार बनाएर सुक्ष्मरूपमा अनुसन्धान गर्दा गैरकानूनी रुपमा साइबर अपराधमा लाग्ने चिनियाँलाई पक्राउ गरिएको जानकारी दिए ।
“प्रहरीको तीन महिनाको अथक प्रयासपछि उनीहरुलाई मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठका ९ वटा घरबाट नियन्त्रणमा लिन सफल भएका छौँँ,” उनले भने । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
ब्यूरोका प्रमुख शाहीले पक्राउ परेका सबै ‘भिजिट भिसा’मा नेपाल आएर बसेको बताए । पक्राउ परेकासँग प्रहरीले मोबाइल ७४७ थान, ल्यापटप ३३१ थान, सिपियू ९८ थान, मोनिटर ९९ थान, पेनड्राइभ २२ थान, सिमकार्ड ३२७ थान र राहदानी ६७ थान बरामद गरेको छ । पक्राउ परेका व्यक्ति अन्य अपराधमासमेत सङ्लग्न रहेको हुन सक्ने भन्दै अनुसन्धान भईरहेको छ । पक्राउ परेकालाई नेपालको प्रचलित कानुन अनुसार कारवाही गरिने ब्यूरोले जनाएको छ ।
रासस































प्रतिक्रिया