काठमाडौं ।
साना तथा मझौला उद्योगको प्रवर्धन गर्ने लक्ष्यका साथ निजी क्षेत्रको अग्रणी नबिल बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । सामान्यतयाः बैंक तथा वित्तीय संस्थाले ऋण दिन लामो समय लगाउने गरेका छन् । नबिल बैंकले सञ्चालनमा ल्याएको नयाँ योजनामा भने कागजात पुगेको ३५ घण्टामा नै ऋण स्वीकृति गरिने व्यवस्था गरिएको छ ।
साना तथा मझौला एवम् घरेलु उद्यम गर्न चाहनेलाई बैंकले छोटो समयमा नै ७५ लाखसम्म ऋण दिने सुविधा ल्याएको आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए ।
उद्यम गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन असाध्यै झन्झटिलो प्रावधान रहेको छ । त्यसमाथि पहुँच नहुनेका लागि त बैंकबाट ऋण लिने कुरा ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै रहेको छ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा अगाडि सारेको छ । सो अवधारणाले समेत रोजगारीको खोजी तथा उद्यमशीलतालाई बढावा दिने लक्ष्य राखेको छ ।
सोही अवधारणालाई कार्यान्वयन गराउन र उद्यम गर्न चाहनेलाई सहज रुपमा कर्जा उपलब्ध गराउने योजना अनुसार नै बैंकले ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ योजना ल्याएको प्रमुख कार्यकारी अधिकृत शाहको भनाइ छ ।
उनले भने “एउटा व्यवसायीका लागि हरेक सेकेण्ड अमूल्य रहेको छ । त्यसैले हामीले क्रेडिट स्कोरिङ ढाँचामा कागजात पुगेको ३५ घण्टाभित्रै कर्जा लिने योजना सार्वजनिक गरेका छौँ ।” यो योजनाले साना, लघु तथा घरेलु उद्यम गर्न चाहने साना लगानीकर्तालाई विशेष गरी फाइदा पुग्ने बैंकको विश्वास छ ।
बैंकले एक वर्षसम्मका लागि १० दशमलव ५ प्रतिशतमा कर्जा उपलब्ध गराउनेछ । यस कार्यक्रममा न्यूनतम १५ लाखदेखि अधिकत्तम ७५ लाखसम्म कर्जा उपलब्ध हुनेछ । प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार ‘सजिलोभन्दा सजिलो, छिटोभन्दा छिटो मात्र ३५ घण्टामा कर्जा पक्का’ भन्ने नाराका साथ उक्त योजना अगाडि सारिएको हो ।
बैंकले आधा आकाश ढाकेका महिलालाई नौ दशमलव नौ प्रतिशत व्याजमा ‘नबिल नारी कर्जा’ समेत उपलब्ध गराउँदै आएको छ । पाँच लाखदेखि एक करोड ५० लाखसम्म उक्त योजनामा कर्जा लिन सकिनेछ । सो योजनामा कर्जा लिन चाहनेलाई कागजात पुगेको खण्डमा पाँच दिनभित्रै कर्जा स्वीकृत गरिनेछ । महिलाले आफ्नै व्यवसाय शुरु गर्न वा लगानी विस्तार गर्नका लागि आफूहरुले थप प्रेरित गर्ने प्रमुख कार्यकारी अधिकृत शाहको भनाइ थियो ।































प्रतिक्रिया