युवा रेडक्रस सर्कल आदर्श बहुमुखी क्याम्पसद्वारा रक्तदान कार्यक्रम

युवा रेडक्रस सर्कल आदर्श बहुमुखी क्याम्पसद्वारा रक्तदान कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शुक्रबार आदर्श बहुमुखी क्याम्पस गजुरी १, धादिङ अन्तर्गत नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कलको आयोजनामा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा गजुरी क्षेत्रका विभिन्न कार्यालयका प्रतिनिधिहरूको सहभागिता रह्यो ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङले प्राविधिक सहयोग प्रदान गरेको उक्त कार्यक्रममा ५१ जना पुरुष र २७ जना महिला गरी ७८ जनाले रक्तदान गरे। व्यवस्थापकीय भूमिका निर्वाह गर्ने नेपाल रेडक्रस सोसाइटी गजुरी उपशाखा लगायत गजुरी सामुदायिक विकास समाज, रूद्रेश्वर आमा समूह र लायन्स क्लब अफ धादिङ गजुरीले यो कार्यलाई सम्पन्न गर्न विशेष भूमिका निर्वाह गरेका छन् ।

यस कार्यक्रमलाई सञ्चालन गर्नुपूर्व नेपाल रेडक्रस सोसाइटी धादिङका मन्त्री श्री दुर्लभकुमार तामाङले क्याम्पसमा विद्यार्थीहरूलाई रेडक्रसको परिचय, मान्यता, सिद्धान्त तथा अन्य कार्यगत जानकारीलाई समेटेर एक अभिमुखीकरण कार्यक्रम गर्नुका साथै क्याम्पसका लागि केही प्राथमिक उपचार सामग्री समेत प्रदान गरेका थिए । सो कार्यक्रमले पनि विद्यार्थीहरूलाई निकै हौसला प्रदान गर्यो ।

यसअघि नै एकपटक रक्तदान कार्यक्रममा सहयोगी भूमिका निर्वाह गरिसकेको यस क्याम्पसको युवा रेडक्रस सर्कलले कार्यक्रमको अघिल्लो दिन पौष १६ गते नै पर्चा पम्प्लेट टाँस्ने, निमन्त्रणा गर्ने लगायतका कार्य गर्यो ।

‘रक्तदान जीवनदान’ भन्ने मानवीय भावनाबाट प्रेरित भएर कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाहरूले फलफूल, जुस, पानी लगायतका केही शीर्षकमा स्वेच्छिक सहयोग समेत प्रदान गरे भने उक्त कार्यक्रम सञ्चालनका लागि श्री सिद्धेश्वर मन्दिर गजुरीले आफ्नो स्थान र कुर्सी लगायतका सामग्री प्रयोग गर्न दिएर सहयोग गरेको हो ।

Logo