काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि स्थगित भएको छ । भ्रातृ संगठन नेविसंघको नेतृत्वका सम्बन्धमा सहमति जुट्न नसकेपछि आजको बैठक पनि स्थगित भएको हो । अर्को बैठक पुस १० गते दिउँसो १ बजे बस्नेछ ।
यस अघि आज अपरान्ह १ बजे बोलाईएको बैठकमा उपस्थित हुने या नहुनेबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा असन्तुष्ट पक्षका नेताहरुविच छलफल भएको थियो । नेविसंघका सम्बन्धमा संस्थापन र असन्तुष्ट पक्ष आ आफ्नै अडानमा कायम रहँदै आएका छन् ।
संस्थापन पक्षले एक अध्यक्ष र चार जना महामन्त्री राख्ने प्रस्ताव गर्दै अध्यक्ष र एकजना महामन्त्री आफूले लिने र बाँकी ३ महामन्त्री वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र उपसभापति विजय गच्छदार समूहलाई दिने बताउँदै आएको छ । संस्थापन पक्षको उक्त प्रस्तावमा असहमती जनाउँदै पौडेल पक्षले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र कोषाध्यक्षसहितको कार्यसमिति गठनको प्रस्ताव गर्दै महामन्त्रीसहित ४० प्रतिशत सदस्य आफूले पाउनुपर्ने दावी गर्दै आएको छ । बाँकी पदाधिकारीमा उपाध्यक्ष सिटौलालाई र कोषाध्यक्ष गच्छदारलाई दिने पौडेल पक्षको प्रस्ताव छ । यदी यसमा सहमती नजुटे नयाँ विधान अनुसार ३२ बर्ष मूनिका विद्यार्थी नेताहरु राखेर कार्यसमिति गठन गर्ने विकल्प पौडेल समूहले अघि सारेको छ । तर त्यसमा संस्थापन पक्ष सहमत नभएको पौडेल निकट केन्द्रीय सदस्य हृदयराम थानीले बताए । नेविसंघ बाहेकका विषयमा भने सहमती नजिक पुगिएको थानीले जानकारी दिए । महाधिवेशनका विस्तृत कार्यतालिका, विभाग गठन तथा भ्रातृ संगठनको नेतृत्व लगायतका विषयमा सहमती जुट्न नसक्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पटक पटक प्रभावित हुँदै आएको छ ।































प्रतिक्रिया