कालिकोट ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयसीमामा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आज प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कालिकोटमा निर्देशन दिँदै उनले कार्यक्रमको प्रभावकारी कार्यान्वयनले मात्र आर्थिक समृद्धि हासिल हुने र जनताको जीवनस्तर माथि उठ्ने बताए ।
सो अवसरमा उनले ‘छोरी सुरक्षा’ कार्यक्रमको शुभारम्भ र विभिन्न विकास योजनाको अनुगमन समेत गरेका थिए । “विकास योजना, कार्यक्रम र बजेट कार्यान्वयनको बलियो अङ्ग भनेकै स्थायी संयन्त्र कर्मचारी हो,” मुख्यमन्त्री शाहीले भने, “तसर्थ सरकारले ल्याएको नीति, बजेट तथा कार्यक्रम कार्यसूची बनाएर तालिका अनुसार काममा निर्वाध लाग्नुहोस् ।”
कर्णालीको भौगोलिकता विकटता, जनशक्ति अभाव बजेट कार्यान्वयनको प्रमुख चुनौती भएको भन्दै जनशक्ति त्यसको व्यवस्थापनमा प्रदेश सरकार लागिपरेको उनले जानकारी दिए ।
मुख्यमन्त्री शाहीले कालीकोटका स्थानीय तहका प्रमुख उपप्रमुख/अध्यक्ष उपाध्यक्षलाई राखेर सङ्घीयता र जनताको मर्म अनुसार विकास योजनाको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित हुन कर्मचारीलाई सुझाएका छन् । संविधान, सङ्घीयताको मर्म र जनअपेक्षा अनुसार विकास हुन नसकेको भन्दै उनले सबै तहका सरकारले जनतालाई अनुभूति हुनेगरी काम गर्न आग्रह गरे ।
अस्पताल अनुगमन
यसैवीच मुख्यमन्त्री शाही, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी लगायतले स्वास्थ्य सेवा कार्यालय कालीकोटको अनुगमन गरेका छन् । तीन दिन अघि कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मी बस्नेत, सामाजिक विकास मन्त्रालयका सचिव डा मानबहादुर विकलगायतले उक्त अस्पतालको अनुगमन गरी उपचार सेवा, जनशक्ति परिचालन र उपकरणको प्रर्याप्तताका बारेमा जानकारी लिएका थिए ।
मुख्यमन्त्री नेतृत्वको टोलीले आजै स्वास्थ्य कार्यालयको भौतिक संरचना, जनशक्ति र सेवा प्रवाह अवस्थाका बारेमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा हाल ३० शैयाको अस्पतालमा जनशक्तिको कमी, भौतिक उपकरण तथा संरचना अभावले सेवा प्रवाहमा देखिएको समस्या तीनै तहका सरकारको समन्वयमा समधान गर्ने मुख्यमन्त्री शाहीले बताए ।































प्रतिक्रिया