२०२० मा विश्व खेलकुद : के पायो, के गुमायो ? (भिडियोसहित)

२०२० मा विश्व खेलकुद : के पायो, के गुमायो ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्व खेलकुदका लागि वर्ष २०२० त्यति सुखद रहेन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण विश्व खेलकुदको अवस्था एक प्रकारले स्तब्ध नै रह्यो । कोभिड १९ ले जसरी पूरा विश्वलाई कुनै न कुनै तरिकाले प्रभावित पारेको थियो, त्यसरी नै विश्व खेलकुद पनि त्यसबाट अछुतो रहेन । तथापि, यसबीचमा पनि विश्व खेलकुदका केही घटनाक्रम भने सम्झनालायक रहे । दुःखद विषय सन् २०२० ले केही महान् खेलकर्मीलाई गुमाउनु प¥यो । अब, सन् २०२० लाई फर्केर हेर्दा कुन कुन घटनाक्रम स्मरणिय रहे त ?

३० वर्षपछि लिभरपुलको उचालेको त्यो लिग उपाधी

व्यवस्थापकमा योगर्न क्लोप आए यता लिभरपुलले पछिल्ला लगातार दुई वर्ष लिग उपाधिको होडमा बलियो चुनौती पेस गरेको थियो, यसमध्ये वर्ष २०२० मा यो टिम अन्ततः इंग्लिस प्रिमियर लिग जित्न सफल रह्यो । विश्वास नहुन सक्छ, लिभरपुलले इंग्ल्यान्डको डिभिजन जितेको यो ३० वर्षपछि पहिलो थियो । लिभरपुलले यसअघि सन् १९९० पछि इंग्ल्यान्डको डिभिजन जितेको थिएन । कोरोना भाइरस संक्रमणको महामारीले एक समय लिग नै नहुने अवस्था पनि सिर्जना भएको थियो, तर यसपल्ट लिभरपुललाई भाग्यले पनि ठग्न सकेन ।

खेलप्रेमीले ओलम्पिक गुमाउनु परेको वर्ष २०२०

आधुनिक ओलम्पिक इतिहासमा कुनै पनि संस्करण अहिलेसम्म सार्नु परेको छैन् तर टोकियो ओलम्पिकले यही नियती भोग्नु पर्याे । वर्ष २०२० ओलम्पिक आयोजना हुने वर्षका रूपमा रहेको थियो, तर कोरोना भाइरस संक्रमणको महामारीका कारण रद्द हुने धेरै प्रतियोगितामध्ये यो नै सबैभन्दा ठूलो रह्यो । त्यसो त अन्तिम समयसम्म पनि जापानले ओलम्पिक हुन्छ भनेर जिद्दी गरिरहेको थियो, तर अन्त्यमा उसको पनि महामारीसामु केही लागेन, अन्ततः यो प्रतियोगिता सन् २०२१ का लागि सारियो ।

बायर्न म्युनिकको च्याम्पियन्स लिग उपाधी यात्रा

जति बेला कोरोना भाइरस संक्रमणको महामारीका कारण युरोपेली च्याम्पियन्स लिगका अन्तिमचरणका खेललाई एउटा सानो प्रतियोगिताको रूप दिइयो । जसमा बायर्न म्युनिक उपाधिका लागि बलियो दावेदार बनेको धेरैलाई लागेको थियो यसलाई बायर्नले सही सावित गर्यो । लिस्बनमा भएको प्रतियोगिताका क्रममा हान्सी फ्लिकको नेतृत्वमा रहेको बायर्नले छैटौं पल्ट युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता जित्न सफल रह्यो । जहाँ, पेरिस सेन्ट जर्मेनले हार बेहोर्नु परेको थियो ।

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

विराट कोहलीको नेतृत्वमा रहेको भारतीय टिम टेस्ट क्रिकेटमा ३६ रनमा अलआउट हुन सक्छ भनेर कोही कसैले सोचेका थिए होला र ? तर यस्तो पनि हुने रहेछ । एडिलेडमा भएको चार टेस्ट शृंखलाको पहिलो खेलमा भारत आफ्नो दोस्रो इनिङ्समा अस्ट्रेलियाको हातबाट साँच्चै ३६ रन मात्र बनाएर अलआउट भयो । त्यस अगाडि भारत बलियो स्थितिमा थियो, तर एकाएक टिम तासको घरझैं ढल्यो । अस्ट्रेलियाका लागि जस हेजलउडले पाँच र प्याट कमिन्सले चार विकेट लिएका थिए ।

नम्बर १ टेनिस खेलाडी जोकोभिच अयोग्य घोषित

विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिच यूएस ओपनको उपाधिका लागि बलियो दावेदार थिए साथै उनी १८ औं ग्रान्ड स्लाम उपाधि जित्ने संघारमा पनि थिए । त्यसमाथि प्रतियोगितामा रोजर फेडेरर र राफेल नाडालले खेलिरहेका थिएनन् । तर चौथोचरण पुग्दा यी सर्बियाली खेलाडीका लागि सबथोक खराब सावित भयो । सर्भिस गुमाएको रिसमा यी ३३ वर्षीय खेलाडीले प्रहार गरेको बल लाइन–जजको घाँटीमा लाग्यो र जोकोभिचलाई प्रतियोगिताबाट निष्कासन गरियो ।

नाडालले जिते १३ औं पल्ट फ्रेन्च ओपन

राफेल नाडालले यूएस ओपन खेलेनन्, किनभने उनी आफ्नो प्रिय फ्रेन्च ओपनमा राम्रो गर्न चाहन्थे । आखिरमा रालान्ड ग्यारोसमा हुने प्रतियोगितामा नाडालको एक छत्र दबदबा यसवर्षको मात्रैको थिएन । यसपल्ट पनि यस्तै भयो, नाडालले कीर्तिमान १३ औं पल्ट फ्रेन्च ओपन जिते र रोजर फेडेररको नाममा रहेको कीर्तिमान २० ग्रान्ड स्लाम उपाधिको पनि बराबरी गरे । फाइनलमा उनले जोकोभिचलाई हराएका थिए, त्यो पनि अहिलेसम्मकै सर्वाधिक एकपक्षीय खेलमा ।

खेलकुदका दुई हस्ती, म्याराडोना र ब्रायन्टलाई गुमाएको वर्ष

वर्ष २०२० ले विश्व खेलकुदका दुई महान हस्तीलाई पनि गुमाउनु पर्यो । ती थिए, फुटबलका डिएगो म्याराडोना र बास्केटलबका कोबी ब्रायन्ट । म्याराडोनालाई त विश्व फुटबलमा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी मानिन्छ । अनि उत्तिकै लोकप्रिय र विवादास्पद पनि । सन् १९८६ को विश्वकपमा उनकै जादुयी खेलले अर्जेन्टिना उपाधि जित्न सफल रहेको थियो । ब्रायन्टको मृत्यु भने स्वभाविक रहेन्, उनी हेलिकप्टर दुर्घटनामा परे र अकालमै आफ्नो ज्यान गुमाउन पुगे ।

अब, विश्व खेलकुद : २०२१ का प्रमुख ठूला आकर्षण

महामारीको अवस्थामा खेलकुद क्षेत्रले सन् २०२१ मा राम्रो होस् भन्ने आशा बढी राख्नेछ । सन् २०२१ मा हुने ठूला र प्रतीक्षा गर्न लायक खेल महोत्सव के के छन् त ? केही ठूला पाँच प्रतियोगिताहरू ।

युरो २०२०, जुन ११ देखि जुलाई ११ सम्म

विश्वकपपछि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कुनै छ भने त्यो युरोकप नै हो । युरोपेली फुटबलको सबैभन्दा ठूलो यो प्रतियोगिता सन् २०२० मा हुनु पर्ने थियो, तर महामारीले सम्भव भएन, त्यसैले यसवर्ष हुने भएको छ । तर, प्रतियोगिताको नाम भने उही रहनेछ, ‘युरो २०२०’ । यसपटकको प्रतियोगिता अलिक फरक हुनेछ, यो एकै देशमा हुने छैन, बरू युरोपका विभिन्न सहरमा हुनेछ । अनि प्रतियोगितामा २४ टिमका सहभागिता रहने पक्का छ, यसले अब्बल दर्जाको फुटबल पस्कनेछ ।

विम्बल्डन, जुन २८ देखि जुलाई ११ सम्म

त्यसै पनि विश्व टेनिसका लागि विम्बल्डन भनेपछि सधैं खास रहने गरेको छ । घाँसे मैदानमा खेलिने चार ग्राण्डस्लाम मध्ये सबैभन्दा बढी महत्वपूर्ण प्रतियोगिता यही हो । यसपल्ट यो प्रतियोगिताको अझ बढी प्रतीक्षा किनपनि मानिने छ भने सन् २०२० मा कोभिड १९ कै कारण यो प्रतियोगिता हुन सकेको थिएन । विम्बल्डनको इतिहासमा यसरी प्रतियोगिता रोकिएको यो दोस्रो विश्व युद्धपछि पहिलो पल्ट हो । अब, विम्बल्डन फेरि सुरु हुनेछ र खेलाडीहरू सेता लुगामा पुनः देखिनेछन् ।

द हन्ड्रेड, जुलाई १७ देखि अगस्ट १३ सम्म

विश्व क्रिकेटले सन् २०२० मै एउटा नयाँ ढाँचाको खेल सन् २०२० मै देख्नु पर्ने थियो, तर त्यो हुन सकेन । केही अन्यौलताबीच यो प्रतियोगिता पनि एक वर्ष पछाडि सारियो । प्रतियोगितालाई लिएर खुबै चर्चा परिचर्चा भएको थियो, किनभने टेस्ट, वान डे र ट्वान्टी ट्वान्टीपछिको फेरि ठ्याक्कै स्वरूपको क्रिकेट थियो, द हन्ड्रेडका रूपमा । जति बेला यो प्रतियोगिता इंग्ल्यान्डमा आयोजना हुनेछ, त्यसले पस्कने क्रिकेटको स्वाद कस्तो हुनेछ, त्यो वास्तवमै हेर्न लायक हुने आशा राखिएको छ ।

टोकियो ओलम्पिक, जुलाई २३ देखि अगस्ट ८ सम्म

सबैलाई थाहा नै छ, टोकियो ओलम्पिक खासमा हुनु पर्ने सन् २०२० मै हो, तर यो पनि कोभिड १९ को कारण हुन सकेन । पहिलो र दोस्रो विश्वयुद्धका बेला प्रतियोगिता नै हुन नसकेको स्थिति बाहेक आधुनिक ओलम्पिकको इतिहासमा यसरी प्रतियोगिता रद्द भएर एक वर्ष पछाडि सारिएको यो नै पहिलो घटना हो । यस्तोमा ओलम्पिक सन् २०२१ मा हुनेछ, तर नाम भने फेरि एकपल्ट उही हुनेछ, टोकियो २०२० । अब जापानले यो ओलम्पिक कसरी गर्छ र माहोल कस्तो हुनेछ यो धेरैका लागि पखाईको विषय बनेको छ ।

ट्वान्टी ट्वान्टी विश्वकप, अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म

यो प्रतियोगिता पनि पछाडि सारिएको कार्यक्रम अन्तर्गत पर्छ । अन्यथा अष्ट्रेलियामा ट्वान्टी ट्वान्टी क्रिकेटको विश्वकप भइसक्थ्यो । आखिरमा प्रतियोगिता सार्ने काम मात्र भएन्, आयोजनास्थल समेत सारियो । वर्ष २०२१ मा ट्वान्टी ट्वान्टी विश्वकप आयोजना भारतले गर्दैछ । जसमा १६ देशले सहभागीेता जनाउनेछन् । उपाधिका लागि आफ्नै भूमि भएपछि भारत बलियो प्रत्यासी त रहने नै छ तथापि, ट्वान्टी ट्वान्टी क्रिकेटको उपाधी कस्ले हात पार्ने हो भन्ने विषय भने २०२१ का लागि कौतुहलताको विषय रहेको छ ।

Skip This
Skip This
Logo