काठमाडौं ।
वैदेशिक रोजगारीमा जानेहरुले अझैपनि आफूले गर्ने काम तथा कम्पनीको बारेमा र तलब तथा सेवा सुविधाका विषयमा राम्रोसँग जानकारी नपाएको गुनासो गरेका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल अध्यागमन विभागमा अनुगमन गर्दा यस्तो गुनासो आएको बताएको हो । आयोगले बुधबार गरेको अनुगमनमा वैदेशिक रोजगारीमा जानेहरुले आफू कुन कामका लागि जान लागेको हो, कम्पनी कस्तो हो, सम्बन्धित देशको भाषा, कानून तथा समस्या पर्दा कसलाई सम्पर्क गर्ने लगायतका विषयमा जानकारी नराखेको पाइएको बताएको छ ।
त्यस्तै फ्रि भिसा फ्रि टिकट भनिएपनि अझैपनि १० हजार भन्दा बढी रुपैयाँ तिरेर जानु परेको गुनासो वैदेशिक रोजगारीमा जानेहरुले गरेको पाइएको आयोगका सदस्य सुदिप पाठकले बताए । उनले एयरपोर्टमा भोग्नु परेको समस्याका विषयमा समेत जानकारी लिइएकोले यस सम्बन्धी जानकारी सरकारलाई गराउने बताए । आयोगकका निर्देशक मुराहरी खरेलले कामदारहरुले आफूले पाउने तलब बताएपनि त्यस सम्बन्धी सम्झौता पत्र नपाएको बताए । उनले कतिपय महिला कामदारहरुलाई आफू के काम गर्न जान लागेको हो भन्ने सम्म पनि जानकारी नभएको पाइएको बताए ।
वैदेशिक रोजगारीमा जानेहरुको सुरक्षा र काम गर्ने कम्पनीसँग भएको सम्झौता अनुसार काम होस भन्ने उद्देश्यसहित आयोगले अनुगमन गरेको उनले बताए । दोस्रोपटक वैदेशिक रोजगारीमा जानेहरुले केही बढी जानकारी भएको बताएपनि त्यो प्रयाप्त नभएको आयोगको भनाई छ । वैदेशिक रोजगारीमा जानेहरुले सकेसम्म आफूहरुले जानकारी लिएर काम गर्न हिंडेको बताएका छन् ।
अध्यागमन विभागले पनि वैदेशिक रोजगारीमा जानेहरुले राख्नुपर्ने कागजात र काम तथा सम्बन्धित देशको कानूनका विषयमा राम्रोसँग जानकारी राखे नराखेको विषयमा सोधपुछ गर्दै आएको बताएको छ । विभागका कार्यकारी निर्देशक ईश्वरराज पौडेलले वैदेशिक रोजगारीमा जानेहरुले आफ्नो कागजात आफैसँग नराखेसम्म सुरक्षित हुने अवस्था नरहने बताए ।
तर वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूसालले भने वैदेशिक रोजगारीमा जानेहरुलाई नयाँ तरिकाले ठग्ने प्रवृति बढेको बताए । उनले पर्यटन भिसामा जान लागेको कागजात अध्यागमन विभागमा देखाउने तर श्रम भिसामा जाने गरेको पाइएको बताए । राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा जानेहरु कुनै न कुनै रुपमा ठगिदै आएको बताउँदै यस सम्बन्धी रिपोर्ट छिट्टै सरकारलाई बुझाउने समेत जनाएको छ । अहिले दैनिक १ हजार ५ सय जना वैदेशिक रोजगारीमा जाने गरेका छन् ।































प्रतिक्रिया