काठमाडौं ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले पाकिस्तानमा आयोजना हुने १४ औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ७५ स्वर्ण पदक जित्ने लक्ष्य राखेको बताएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषदमा १३ औँ सागमा बक्सिङतर्फ पदक विजेता खेलाडीलाई तथा चीन जाने बक्सिङ खेलाडीको बिदाइ कार्यक्रममा सदस्यसचिव सिलवालले १४ औँ सागका लागि अहिलेदेखि नै तयारी थाल्न निर्देशन दिए ।
उनले १३ औँ सागमा लक्ष्य अनुरुप नै नेपालले पदक जितेकामा खुशी व्यक्त गरे । “तेह्रौँ सागमा स्वर्ण जित्नेले एशियाली खेलकूलमा समेत स्वर्ण नै जित्नु प¥यो”, उनले भने, “अब त्यही अनुसार तयारी थाल्नुस् ।” प्रतियोगिता सम्पन्न भएको पाँच दिनभन्दा बढी समयसम्म प्रशिक्षणविहीन अवस्थामा बस नहुने भन्दै उनले अभ्यासमा जुट्न खेलाडी तथा प्रशिक्षकलाई निर्देशन दिए ।
तेह्रौँ सागमा महिला खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको सदस्यसचिव सिलवालको भनाइ थियो । “तेह्रौं सागमा ५१ मा ३० स्वर्ण महिला खेलाडीले जिते”, उनले भने, “महिला खेलाडीलाई खेलतर्फ आकर्षित गर्न जरुरी छ ।” पदक जित्ने खेलाडीलाई सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय सरकारले समेत नगदसहित सम्मान गर्न लागेको उनले उल्लेख गर्नुभयो ।
पदक विजेता बक्सिङ खेलाडीलाई सम्मान
यसैबीच तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक विजेता बक्सिङ खेलाडीलाई सम्मान गरिएको छ । नेपाल बक्सिङ सङ्घद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषदमा आयोजित कार्यक्रममा राखेपका सदस्यसचिव सिलवाल, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, सङ्घका संस्थापक अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, सङ्घका पूर्वअध्यक्ष रविराज थापालगायतले पदक विजेता खेलाडीलाई सम्मान गरेका थिए ।
सो अवसरमा १३ औँ सागमा बक्सिङको ५४ किलो तौल समूहमा स्वर्ण विजेता महिला खेलाडी मिनु गुरुङ तथा ६० र ६४ किलो तौल समूहमा स्वर्ण विजेता पुरुष खेलाडी क्रमशः सनिल शाही र भूपेन्द्र थापालाई जनही रु दुई लाखसहित सम्मान गरिएको थियो । तीनै जनालाई सङ्घका अध्यक्ष अवालेले जनही एक लाख ५० हजार तथा संस्थापक अध्यक्ष श्रेष्ठले जनही ५० हजार प्रदान गरेका थिए । तेह्रौँ सागमा बक्सिङमा ६ रजत तथा ६ कास्य जित्ने खेलाडीलाई समेत चाँडै सम्मान गरिने अध्यक्ष अवालेले जानकारी दिए ।































प्रतिक्रिया