काठमाडौं ।
तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप चार लाख पुरस्कार पाउने भएका छन् ।
यो उनीहरुले सरकारबाट पाउने नौ लाखभन्दा बाहेकको पुरस्कार रकम हो । तेह्रौँ सागमा नेपालका एक महिला तथा दुई पुरुष बक्सरले स्वर्ण पदक जितेका थिए ।
उनीहरुलाई नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले एक लाख ५० हजार, नेपाल बक्सिङ सङ्घका मुख्य प्रशिक्षक प्रकाश थापामगरले एक लाख, नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले एक लाख तथा नेपाल बक्सिङ सङ्घका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठले जनही ५० हजार प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
यस्तै पूर्वबक्सिङ खेलाडी एवं राखेपका केन्द्रीय सदस्य राजेश गुरुङले स्वर्ण पदक प्राप्त बक्सिङ खेलाडीलाई एक एक तोला सुन प्रदान गर्ने बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिनुभयो ।
तेह्रौँ सागमा ६४ किलो तौल समूहमा भूपेन्द्र थापामगर, महिलातर्फ ५४ किलो तौल समूहमा मिनु गुरुङ तथा ६० किलो तौल समूहमा सनिल शाहीले स्वर्ण पदक जित्नुभएको थियो ।
नेपालले सन् १९९९ मा आठौँ सागमा बक्सिङमा दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक प्राप्त गरेको थियो । आफ्नो प्रदर्शनमा सुधार गर्दै नेपालले १३ औँ सागमा बक्सिङमा तीन स्वर्ण, ६ रजत तथा ६ कास्य गरी १५ पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक भट्टले बताउनुभयो । उहाँ आठौँ सागका समेत प्रशिक्षकसमेत हुनुहुन्छ ।





























प्रतिक्रिया