भक्तपुर, मसिर २४ । उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकाको एकीकृत योजनाका साथ नगरपालिकाको फोहर व्यवस्थापन गर्ने भएको छ ।
भक्तपुरमा सम्पन्न फोरमको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले फोहर व्यवस्थापनदेखि उपत्यका विकास प्राधिकरण खारेज लगायतको निर्णय गरेको जानकारी दिए । उनले फोरमले गत वैशाखमै प्राधिकरण खारेजीको निर्णय गर्ने माग गरेको तर कार्यान्वयन नभएकोले ठोस् रुपमा कदम चाल्ने निर्णय गरिएकोे बताए ।
उपत्यका विकास प्राधिकरणको सबै बैठक, छलफल र कार्यक्रम उपत्यकका सबै महानगर एवं नगरपालिकाले बहिष्कार गर्ने निर्णय गरेको छ । त्यसैगरी पर्यटन वर्ष २०२० लाई लक्षित गरी फोरमको बैठकले अक्टोवर–२०२१ मा काठमाडौँमा अन्तर्राष्ट्रिय मेयर सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ ।
सम्मेलनमा छिमेकी र चर्चित शहरका मेयरसँगै उपत्यका क्षेत्रका नगरपालिकासँग भगिनी सम्बन्ध जोडिएका शहरका मेयरको विशेष उपस्थिति गराउने जनाइएको छ । फोरमले उपत्यका क्षेत्रको फोहर व्यवस्थापनमा अन्तर नगरपालिका समन्वय गरेर एकीकृत योजना निर्माण गरी ठोस पहल गर्ने, विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समस्या समाधानका लागि केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको सचिव श्रेष्ठले जानकारी दिए ।
बैठकले ललितपुर महानगरपालिकाले अघि सारेको साइकल लेनको अवधारणालाई सबै नगरपालिकाले प्राथमिकतामा राखेर सबैले साइकल लेनको अवधारणालाई अगाडि बढाउने निर्णय गरेको छ ।
नौ जना नगर प्रमुख र १२ जना उपप्रमुखको सहभागिता रहेको बैठकमा ६ विषयमा छलफल भएको फोरम अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । उनले विषयगत कार्यालयबाट स्थानीय तहसँग गर्नुपर्ने समन्वय विकासका सन्दर्भमा नगरिएका, समन्वय अभावका कारण विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा देखिएको समस्यालाई समाधान गर्न राष्ट्रप्रमुख र सरकारप्रमुखसँग अनुरोधसहित पहल गर्ने निर्णय भएको बताए । रासस





























प्रतिक्रिया