उपनिर्वाचनमा ३३ वटा आचारसंहिता उल्लङ्घन : इन्सेक

उपनिर्वाचनमा ३३ वटा आचारसंहिता उल्लङ्घन : इन्सेक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत मङ्सिर १४ गते भएको उपनिर्वाचनमा आचारसहिंता उल्लङ्घनका ३३ वटा घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा सबभन्दा बढी राजनीतिक दलबाट आचारसंहिता उल्लङ्घन भएको पाइएको उल्लेख छ । राजनीतिक दलबाट १५, जनप्रतिनिधिबाट पाँच, निर्वाचन कार्यालयबाट पाँच, स्थानीय तहबाट एक र अन्यबाट सात वटा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना भएको पाइएको हो ।

इन्सेकले गरेको अनुगमनबाट आचारसंहिता उल्लङ्घनमा कुटपिट आठ, बालबालिका प्रयोग सात, भोजभतेर र माइकिङ एक÷एक, विस्फोटन दुई, सरुवा एक, सार्वजनिक पद धारण गरेको व्यक्तिबाट पाँच र अन्य छ वटा भएको जनाइएको छ ।

“आचारसंहिताविपरीत काम भए कारवाही गर्ने अधिकार कानूनले निर्वाचन आयोगलाई प्रदान गरेको भए पनि त्यसको कार्यान्वयन पक्ष असाध्यै फितलो पाइयो”, प्रतिवेदनमा भनिएको छ, “आचारसंहिता विपरीत गतिविधि भए उजुरी गर्ने व्यवस्था भए पनि छानबिन र दोषीलाई कारवाही गर्ने कार्यमा आयोग निरीह जस्तै देखियो ।”

प्रतिवेदनमा इन्सेकले निर्वाचन आचारसंहिता उल्लङ्घनकर्तालाई कारवाहीको दायरामा ल्याउनुपर्ने र भड्किलो चुनाव खर्चमा कमी ल्याउन राजनीतिक दलको चुनावी खर्चको व्यवस्थापन निर्वाचन आयोगले गर्न सुझाव दिइएको छ ।

प्रतिवेदनमा राजनीतिक दललाई आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने निर्वाचन सम्बन्धी कार्यक्रम विद्यालयमा नगर्ने प्रतिबद्धताको पूर्ण परिपालना गर्नुपर्ने र निर्वाचन खर्च मितव्ययी बनाउनु पर्ने सुझाव दिइएको छ । मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी ५२ स्थानमा उपनिर्वाचन भएको थियो ।

Logo