समृद्धिका लागि पाँच आधार तय गरिएको छ–उप प्रधानमन्त्री पोखरेल

समृद्धिका लागि पाँच आधार तय गरिएको छ–उप प्रधानमन्त्री पोखरेल

केन्द्रबिन्दु
0
Shares

ललितपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको बताएका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना मावि भवनको हस्तान्तरण कार्यक्रममा उनले सरकारले समृद्धिका लागि यी पाँच आधार तय गरेको बताए ।

सरकारी स्वामित्वका उद्योगहरू धराशायी हुनाका कारण खोजी गरिने बताउँदै पोखरेलले भने, “ती उद्योग कसरी धराशायी भए र आगामी दिनमा कसरी अघि बढ्ने भनी आत्मसमीक्षा हुनेछ ।” राजनीतिक विचारका आधारमा फरक धारणा राख्नेहरू पनि विकासका लागि एकजुट भएर लाग्नुपर्नेमा उपप्रधानमन्त्री पोखरेलको जोड छ ।

‘‘देशमा ७० प्राविधिक शिक्षा र ३० प्रतिशत सामाजिक शिक्षा हुने गरी योजना बनाइएको छ”, पोखरेलले भने, “एक्काइसौँ शताब्दीमा व्यावसायिक र व्यावहारिक शिक्षाको आवश्यकता छ ।” उनले विद्यालय शिक्षा सुधारका लागि स्थानीय तह, जनप्रतिनिधि र स्थानीयवासी मिलेर लाग्नुपर्ने औँल्याए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले भूकम्पका समयमा क्षतिग्रस्त भएका झण्डै सात हजार ५ सय विद्यालयको पुनर्निर्माण भएको बताए । उनले भने- ‘तीमध्ये पाँच हजार ३ सय विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने अरू विद्यालयका भवन निर्माण भइरहेका छन् ।’

सांसद् नवराज सिलवालर प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले मुलुकको समृद्धिका लागि सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।

गोदावरी नगरपालिकाका उपप्रमुख मुना कुँवरले विसं २०१२ मा स्थापना भएको यस विद्यालय समुदायिक विद्यालयतर्फ जिल्लाको पहिलो नमूना विद्यालय भएको उल्लेख गरे । भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एशियाली विकास बैंकको लगानीमा विद्यालयको भवन निर्माण भएको हो । भवन निर्माणको लागत नौ करोड ७० लाख रहेको छ । रासस

Skip This
Skip This
Logo