काठमाडौं । यस वर्षाकाे ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर कुलमान घिसिङले पाएका छन् । हरेक वर्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्रदान गर्दै आएकाे उक्त पुरस्कार यस वर्ष घिसिङलाई प्रदान गरिएकाे हाे । पुरस्कारको राशि १ लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नास्टको ३७ औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गरेका हुन् ।
नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका वैज्ञानिक प्राविधिहरुको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । विक्रम संवत २०७३ को भदौमा ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको लोडसेडिङको अन्त्य गरेपछि सबैकाे मन जिते ।
घिसिङले चालेकाे कदमबाट विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल भएको छ । पछिल्लो समय प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई,प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नति तथा सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेकाे छ ।





























प्रतिक्रिया