स्वरसम्राट नारायण गोपालको २९ औं स्मृतिदिवस आज

स्वरसम्राट नारायण गोपालको २९ औं स्मृतिदिवस आज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाली सङ्गीत जगतका चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको आज २९ वर्ष पुगेको छ । नेपाली सङ्गीतको क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उहाँ नेपाली जन जनको मनमा अहिले पनि जीवन्त हुनुहुन्छ ।

बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उहाँको विसं १९९६ असोज १८ गते काठमाडौँमा जन्म भएको थियो । उहाँको विसं २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो । आज उहाँको २९ औँ स्मृति दिवसको अवसरमा नारायण गोपाल सङ्गीत कोषले उहाँको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।

उहाँका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बदलिदियो । हिन्दी गीतबाट प्रभावित त्यतिबेलाको समयमा उहाँका एकपछि अर्को गर्दै आएका विभिन्न गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएका छन् । उहाँका गीत राष्ट्रिय भावले ओतप्रोत रहेका छन् ।

नारायण गोपालका गीतको प्रभाव बढ्न थालेपछि हिन्दी गीतको प्रभाव घटेको जानकारहरु बताउँछन् । उहाँले विसं २०१७ मा पहिलो गीत रेकर्ड गरेर साङ्गीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो ।

प्रेम र देशभक्ति गीत गाउन रुचाउने उहाँले शब्द र सङ्गीतलाई निकै ध्यान दिने गरेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) बताउनुहुन्छ । “परम्परागतरूपमा चलिआएको सङ्गीतमा नारायण गोपालले आधुनिकता भर्ने काम गर्नुभयो”, उहाँले भन्नुभयो, “जति गीत गाउनुभयो सबै उत्तिकै राम्रा छन् ।”

नारायण गोपाल पहिलोपटक त्रिचन्द्र कलेजको वार्षिकोत्सवमा साथीहरुको साथ तबला वादकका रूपमा स्टेजमा चढ्नुभएको थियो । नारायण गोपालले नराम्रा गीत गाउनलाई अस्वीकृत गरेर शब्द र सङ्गीत उत्कृष्ट भएका गीतहरु मात्र गाउने गरेको उहाँले बताउनुभयो ।

उहाँका गीत अहिलेका पुस्तामाझ पनि कर्णप्रिय बन्न सफल रहेका छन् । उहाँ उत्कृष्ट आधुनिक गीतहरु पस्किएर नेपाली सङ्गीत क्षेत्रमा देखिएको रिक्ततालाई मेटाउन सफल ठहरिनुभयो । प्रेम सम्बन्धी गीत गाएर लाखौँ युवा वर्गको रोजाइमा पर्न सफल हुनुभयो । नारायण गोपालले नेपाली सङ्गीतको क्षेत्रमा कहिल्यै भुल्न नसकिने गुन लगाउनुभएको छ ।

साङ्गीतिक जीवनमा उहाँले केही असफलता पनि बहोर्नु परेको थियो । पहिलोपटक नै स्वर परीक्षामा अनुत्तीर्ण हुनुपरेको थियो भने चलचित्र माइतीघरको गीत गाउन जाँदा गाउन नसकेर अस्वीकृत हुनुप¥यो । उहाँले भारतको बडोदामा शास्त्रीय सङ्गीतको अध्ययन पूरा नगरी छाडनुपरेको थियो ।

करीब १०० बढी गीतमा आवाज भर्नुभएका उहाँका सबै गीत कालजयी छन् । अहिलेको समयमा पनि उत्तिकै राम्रा मानिन्छन् । नारायण गोपालको घरमा शास्त्रीय सङ्गीतबाहेक आधुनिक गीतमा रम्न मनाही थियो । बुबाले आधुनिक सङ्गीतलाई हलुका रङ्गीन ठान्नुहुथ्यो पूर्व–पश्चिम राजमार्गको निर्माण कार्य चलिरहेका बेला उहाँले ‘जाग लम्क चम्क हो नौ जवान हो…’ बोलको गीतमा स्वर दिएर ऊर्जा थपिदिने कार्य गर्नुभएको थियो ।

उहाँ गायक सङ्गीतकारका अतिरिक्त इतिहासका जानकार, फुटबल खेलका पारखी, चेस खेलाडी, कुशल भान्से, फोटोग्राफरका रूपमा पनि रहनुभएको जानकारहरु बताउँछन् । उहाँले मानविकी शास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।

वि.सं २०२७ फागुनमा पेमालाका साथ वैवाहिक जीवनमा बाँधिए पनि उहाँहरुबाट कुनै सन्तान जन्मिएनन् । नारायण गोपालको स्मृति दिवसका दिन सङ्गीत कोषले उहाँको सम्झनामा निर्माण हुन लागेको भवनको शिलान्यास, स्रष्टा सम्मान र प्रवचन कार्यक्रमको आयोजना गर्न लागेको कोषका प्रशिक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।

एउटा मान्छेको मायाले कति, आँखा छोपी नरोऊ भनी, पर्खी बसेँ आउला भनी, यति धेरै माया दिई, यो सम्झिने मन त, अल्झेछ क्यारे पछ्यौरी तिम्रो, म त लालीगुराँस भएछु, ल सुन मेरो रामकहानी, यति चाखो यति मिठो, तिमीलाई म के भनु लगायतका दर्जनौँ अजर अमर गीतमा नारायण गोपालले स्वर भर्नुभएको छ ।

‘नारायाणगोपाल सङ्गीत पुरस्कार’ दाहाल र निरौलालाई

राष्ट्रिय युवा सेवा कोषले यस वर्षको ‘नारायाणगोपाल युवा सङ्गीत पुरस्कार’ युवा गायक आशिष दाहाल र मीना निरौलालाई प्रदान गर्ने भएको छ ।

वरिष्ठ सङ्गीतकार दीपक जङ्गम संयोजकत्वको पुरस्कार छनोट समितिको सिफारिसका आधारमा सो निर्णय भएको कोषका सदस्यसचिव शङ्करप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो पुरस्कारको राशि ५० हजार रहेको छ ।

यसैगरी ५० हजार राशिकै ‘अरनिको युवा कला पुरस्कार’ यस वर्षका लागि युवा कलाकारद्वय विजय महर्जन र सविता डङ्गोललाई प्रदान गरिने भएको छ । यो पुरस्कार चयनका लागि वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको कोषले जनाएको

Logo