५० चित्रकारले बनाए ३० फिट लामो बुद्धको पेन्टिङ्ग

५० चित्रकारले बनाए ३० फिट लामो बुद्धको पेन्टिङ्ग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

गायक धिरज राईले १२ वर्षदेखि चलाउँदै आएको “वुद्धको भ्रम हटाउ” भन्ने अभियानको समर्थन गर्दै नेपालका ५० जना चित्रकारहरुले ३० फिट लामो वुद्धको पेन्टिङ्ग बनाएका छन् ।

वरिष्ठ चित्रकार तथा पूर्व कुलपति किरण मानन्धरको अगुवाईमा ५० जना वरिष्ठ कलाकारहरुले वुद्धको पेन्टिङ्ग कोरेका हुन् । “गायक धिरज राईले चलाउनु भएको यो अभियानमा साथ दिनको लागि मैले वुद्धको पेन्टिङ्ग बनाएको हुँ । यदि हामीले समयमै वुद्धको भ्रम हटाउन सकिएन भने भोलीको दिनमा वुद्ध कहाँ जन्मेका हुन् भन्ने कुरा संसारलाई थाहा नहुन सक्छ ।” किरण मानन्धर भन्नु हुन्छ, “यो रङ्ग र ब्रस मात्र होइन सम्पूर्ण नेपालीहरुको आवाज हो ।”

त्यस्तै अर्का विशेष अतिथि काठमाडौंका उपमेयर हरिप्रभा खड्गीले भनिन् –“हाम्रो एक इन्च जमिन पनि छोड्ने छैनौ र अरुको पनि लिने छैनौ ।” भर्खरै मात्र लुम्विनी बगैंचामा “भगवान वुद्धको जन्मभूमि भारत हो” भन्ने ब्यानर लेखिएको घट्नाले मनमा चोट परेको उहाँले बताउनु भयो । “जसरी हाम्रो जमिनको लागि हामी लड्न तयार छौं त्यसरी नै वुद्ध अरु देशमा जन्मेको भन्ने भ्रम चिर्न हामी एकजुट भएका छौं ।” वरिष्ठ पेन्टर प्रेम लामा भन्नु हुन्छ । “धिरज जीको यो अभियानमा हामी चित्रकारहरु पनि समेटिन पाउँदा अत्यन्त खुशी लागेको छ ।”

कार्यक्रममा ८ वर्षकी कान्छी चित्रकार आकर्षणकी पात्र भएकी थिइन् । उनलाई उनको बाबाले सहयोग गरेका थिए । किरण मानन्धरले “नेपाल आमा” शिर्षकको पेन्टिङ्ग शुरु गरेर उद्घाटन गर्नु भएको थियो । करिब २ घण्टासम्म चलेको सो कार्यक्रममा स्कूलका विद्यार्थीहरुको पनि उल्लेख्य उपस्थिति थियो । “कार्यक्रम हामीले सोचेको भन्दा धेरै सफल भयो ।” धिरज राई भन्नु हुन्छ । यो ३० फिट लामो वुद्धको पेन्टिङ्गलाई अमेरिकास्थित संयुक्त राष्ट्र संघको परिसरमा प्रदर्शन गरिनेछ । स्मरण रहोस् वुद्ध जन्मिएको बैशाख महिनामा संयुक्तराष्ट्र संघमा “वुद्ध बैशाख डे” मनाउने गरिएको छ । वुद्ध अभियानको कदर गर्दै नेपाल सरकारले गायक धिरजलाई प्रवल जनसेवा श्री चुतुर्थि विभुषण दिने घोषणा गरेको छ ।

Logo