नेपाल टेलिकमको फोरजी सिमकार्ड निःशुल्क वितरण

नेपाल टेलिकमको फोरजी सिमकार्ड निःशुल्क वितरण

केन्द्रबिन्दु
0
Shares

सिलगढी,

नेपाल टेलिकमको डोटीस्थित सिलगढी कार्यालयले निःशुल्करूपमा अति द्रुतगतिको इन्टरनेट सेवा फोरजीको सिमकार्ड वितरण गर्ने कार्य शुरु गरेको छ । जिल्लामा केही साता अघिदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलोपटक फोरजी सिमकार्ड वितरणको कार्य शुरु गरेकोे हो ।

सो कार्यालयले सूचना प्रकाशित गरी हिजो बिहान ८ बजेदेखि फोरजी तथा विद्यार्थी सिमकार्ड निःशुल्क वितरण गरेको हो । फोरजी सिम लिन दर्जनौँ स्थानीयवासी तथा विद्यार्थीले आवेदन दिएका थिए । यसका लागि विद्यार्थी तथा स्थानीयवासी बिहानैदेखि कार्यालयमा लाइन लागेका थिए ।

फोरजी सेवाको सिमकार्ड लिन विद्यार्थीको हकमा एसइई दिएको प्रवेशपत्र, नागरिकता प्रमाणपत्र तथा एकप्रति फोटो अनिर्वाय हुनुपर्ने तथा अन्यको हकमा नागरिकता प्रमाणपत्र र एकप्रति फोटो अनिर्वाय हुनुपर्ने टेलिकमले जनाएको छ । सेवा शुरु भएपछि सबैले फोरजी प्रयोग गरुन् भनेर निःशुल्करूपमा फोरजी सिम वितरण गरिन थालिएको नेपाल टेलिकम दिपायलका प्राविधिक प्रकाश चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले फोरजी सेवा लिन पाऊन् भन्ने उद्देश्यले पहिलो चरणमा निःशुल्क रुपमा सिम वितरण गर्न थालेका छौँ ।”

यो सेवा शुरु भएसँगै फोरजी नेट छिटोछरितो भएकाले त्यसका ग्राहक दिनहुँ बढ्न थालेको टेलिकमको डोटी कार्यालयले जनाएको छ । जिल्लामा निजी क्षेत्रको कम्पनी एनसेलले पनि आफ्नो सेवा दिइरहेको छ ।

Skip This
Skip This
Logo