काठमाडौं,
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको निर्णय बदर गरी ६४ जना भूकम्प पीडित पुनःनिर्माण लाभग्राही सूचीमा सूचीकृत भएका छन् । पुनरावेदन समितिले प्राधिकरणको निर्णय बदर गरी ६४ भूकम्प पीडितलाई लाभग्राही कायम गरेको हो ।
समितिले एक हजार ५२० मुद्दाको फैसला गरेको सदस्य अधिवक्ता भीष्मराज कडरियाले बताउनुभयो । उहाँका अनुसार ३८९ लाई गैर लाभग्राही, ३७२ मुद्दा खारेज, ६४ लाभग्राही र १९ मुद्दालाई तामेलीमा राखिएको छ ।
समितिमा दर्ताका लागि ६ हजार ४५ को आवेदन सङ्कलन भएको छ । जाँचबुझ गरी ४ हजार ७८५ निवेदन दर्ता भएका थिए । दुई हजार ९२५ मुद्दाको प्रमाण बुझ्न आदेश भएको थियो । दुई सय ११ मुद्दाको प्रत्यार्थी झिकाउनु पर्ने र १२७ मुद्दामा अन्य आदेश दिइएको छ ।
भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ को दफा २६ अनुसार समिति गठन भएको हो । पुनर्निर्माण सम्बन्धी कामको पुनरावेदन लिई सुनुवाइ गर्न एवं यस सम्बन्धी कामलाई व्यवस्थित गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । समितिलाई प्राधिकरणले गरेका कामको निर्णयका बारेमा सुनुवाई गर्दा उच्च अदालतलाई भए बमोजिमको अधिकार हुने व्यवस्था ऐनले गरेको छ ।





























प्रतिक्रिया