उपनिर्वाचन ०७६ : काभ्रे नाकासम्म सवारी प्रवेशमा रोक

उपनिर्वाचन ०७६ : काभ्रे नाकासम्म सवारी प्रवेशमा रोक

केन्द्रबिन्दु
0
Shares

भक्तपुर,

भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा आज हुने उपनिर्वाचनको दिन पेप्सिकोला, मध्यपुरथिमि राधेराधेदेखि काभ्रे नाकासम्म सवारी साधन प्रवेशमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार विज्ञप्तिमार्फत आज हुने उपनिर्वाचनको सुरक्षालाई दृष्टिगत गरी गए राति १२ देखि आज १४ गते राति ९ बजेसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधन प्रवेशमा रोक लगाएको जनाएको हो ।

एम्बुलेन्स, शववाहन, दमकल र निर्वाचन आयोगका सम्बन्धित अधिकृत एवं स्वीकृत सवारी पास प्राप्त गरेका सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनलाई प्रवेशमा रोक लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । प्रहरीले अरनिको राजमार्ग काभ्रेको साँगादेखि मध्यपुरथिमिको राधेराधेसम्मको सडक खण्डबाट उत्तरतर्फ जाने सम्पूर्ण सडकमा सवारी प्रवेश निषेध गरेको छ ।

त्यस्तै राधेराधे चोकबाट निकोसेरा चोकसम्मका सडक र उक्त सडक खण्डबाट पूर्वतर्फ जाने सम्पूर्ण सडक, पेप्सिकोला मनोहरादेखि निकोसेरा सडकबाट उत्तरतर्फ जाने सम्पूर्ण सडक, काठमाडौँबाट भक्तपुर आउने पेप्सिकोला मनोहरा तथा जडीबुटी मनोहरा नाका बाहेकका सम्पूर्ण नाका र काभ्रेबाट भक्तपुर आउने साँगा नाका बाहेकका सम्पूर्ण नाकाबाट सवारी साधन प्रवेशमा रोक लगाएको उहाँले जानकारी दिनुभयो ।

केही घटना भएमा तत्कालै थप सुरक्षाकर्मी पुग्ने

प्रदेशसभा सदस्य पदको उपनिर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री मतदान केन्द्रसम्म पुगिसकेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शुक्रबार उपनिर्वाचनको तयारीबारे जानकारी दिदै मतदान केन्द्र, मतदान स्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको बताउनुभयो । आवश्यकता अनुसार सुरक्षाकर्मी थप गर्न सक्ने उहाँको भनाइ थियो । सादा पोशाकमासमेत सुरक्षाकर्मी परिचालन हुनेछन् । शान्तिपूर्ण रुपमा मतदान गर्ने गरी तयारी पूरा भएको जानकारी दिँदै प्रजिअ भट्टले कुनै पनि ठाउँमा केही घटना भएमा तत्कालै थप सुरक्षाकर्मी पुग्ने बताउनुभयो ।

उपनिर्वाचनका लागि ९ दलका ९ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी १९ जना चुनावी मैदानमा रहेका छन् । प्रदेश (क) मा चाँगुनारायण नगरपालिकाको नौ वटा वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० मा कूल २२ मतदान स्थल र ५४ मतदान केन्द्र छन् भने कूल ४५ हजार १५ मतदाता रहेको जनाइएको छ ।

Logo