साग: मार्चपासमा नेपालको झण्डा पारसले बोक्ने, बिदेशी खेलाडीहरू आउनेक्रम शुरु

साग: मार्चपासमा नेपालको झण्डा पारसले बोक्ने, बिदेशी खेलाडीहरू आउनेक्रम शुरु

केन्द्रबिन्दु
0
Shares

तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको १३ औं दक्षिण एशियाली खेलकूद (साग) तयारीका लागि नेपालको एक मात्र अन्तरराष्ट्रियस्तरको दशरथ रङ्गशाला बेहुलीझैँ सिङ्गारिएको छ । सागको औपचारिक उद्घाटन हुन अब दुई दिन मात्र बाँकी हुँदा भव्य उद्घाट्न गर्न रङ्गशालामा बलेको झिलीमिली बत्तीले माहोललाई उत्साहित बनाएको छ ।

आइतबार औपचारिकरूपमा सागको उद्घाटन हुनेछ । रङ्गशालामा अहिले विभिन्न किसिमका झिलीमिली बत्ती बलेका छन् भने दक्षिण एशियाली राष्ट्र अङ्कित झण्डा टाँगिएका छन् । विगत केही वर्षयतादेखि छायाँमा परेको दशरश रङ्गशालाले साँच्चिनै बेहुलीले झै ध्यान तानेको छ शहरवासी र खेलप्रेमीको । रङ्गशाला मात्र होइन, राजधानी काठमाडौँ नै अहिले सजिएको छ ।

खेलकूदका विभिन्न ब्यानर, मस्कट लोगो, अफिसियल राष्ट्रको लोगो र नेपालका विभिन्न सांस्कृतिक सम्पदा तथा इतिहास झल्किने गरी राजधानीलाई सजाइएको छ । सागका लागि काठमाडाँैमा विदेशी खेलाडी तथा अफिसियलको आगमन पनि बढ्दो छ । तेस्रोपटक आयोजनाको मौका पाएको सागमा नेपालले कुनै कमी कमजोरी नराखी तयारीमा जुटेको छ ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दशरथ रङ्गशालामा बाँकी रहेका केही काम आज रातिसम्म सम्पन्न गरिने बताए  । “म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु, आज रातिसम्म दशरथ रङ्गशाला तयार हुनेछ”, उनले भने, “अब रङ्गशाला परिसर र खेलस्थलको केही सरसफाइको काम बाँकी छ, त्यो पनि आज रातिसम्म पूरा हुनेछ ।”

टिकट व्यवस्था

सागमा हुने खेलका लागि इ–सेवाले अहिले बास्केटबल, फुटबल र भलिबल खेलका टिकट अनलाइनमार्फत बिक्री गरिरहेको छ । सागमा खेल हेर्न चाहने व्यक्तिले सागको इ–सेवा डटकम डट एनपीमा गएर टिकट खरीद गर्न सकिने राखेपले जनाएको छ । समूह चरणअन्र्गतको फुटबल खेल हेर्नका लागि दरशरथ रङ्गशलामा भीआइपी प्यारापिटतर्फ रु एक हजार र साधारण प्यारापिटतर्फ रु ५०० टिकट तोकिएको छ ।

यता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्रिकेट खेलतर्फ भने नेपालको खेल हुँदा रु ५०० र अन्य देशबीचको खेल हँदा रु २०० टिकट मूल्य तोकिएको छ ।

त्यसैगरी सागमा काठमाडौँमा हुने सवारी जामलाई व्यवस्थित गर्नका लागि ठूूला मालबाहक सवारी साधनलाई रिङ्रोडभित्र प्रवेश नगर्न अनुरोध गरिने, दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गमा वानवे लागू गर्ने, उद्घाटनका दिन रिङरोडभित्र बिजोर र समापनमा जोड नम्बरका सवारी साधनमात्र चलाउन पाउने नियम लागू गरिएको राखेपले जनाएको छ ।

त्यस्तै दर्शकका लागि पार्किङस्थल टँुडिखेलमा तोकिएको छ । सो स्थानमा पार्किङ गर्न काठमाडौँ मल अगाडिको ढोका प्रयोग हुनेछ । रङ्गशालाभित्र भने भीभीआइपीको सवारी पार्किङ हुनेछ ।

मार्चपासमा नेपालको झण्डा पारसले बोक्ने सम्भावना

यही मङ्सिर १५ गते हुने सागको उद्घाटनमा हुने मार्चपासमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई नेपालको झण्डा बोक्न दिने गरी सिफारिश गरिएको छ । सागको प्राविधिक उपसमितिले पारसको नाम समारोह उपसमितिलाई सिफारिश गरेको हो । केही महिनाअघि मात्र राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिएका पूर्वकप्तान खड्कालाई मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्न दिने गरी सिफारिश गरिएको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले जानकारी दिए ।

साग काठमाडौँ, पोखरा र जनकपुरमा यही मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ । सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा विशेष समारोहबीच गर्ने कार्यक्रम तय भएको छ । राखेपको अनुसार उद्घाटनसत्र करीब सवा तीन घण्टाको हुनेछ ।

मार्चपासपछि नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । प्रतियोगितामा भाग लिन भारत, बङ्गलादेश, भूटान, पाकिस्तान, माल्दिभ्स र श्रीलङ्काका खेलाडी, प्रशिक्षक तथा अफिसियल आउनेक्रम शुरु भइसकेको जनाइएको छ ।

Logo