कास्की,
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनु भएको छ । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसार अन्तर्गत पोखरा महानगरपालिका–८ मा मंगलबार आयोजित चुनावीसभामा उहाँले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउनुभयो ।
सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको बताउँदै उहाँले भन्नुभयो, “कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपर्छ, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो ।” लोकतन्त्रलाई बचाउन पनि काँग्रेसलाई विजय गराउन नेता पौडेलले आग्रह गर्नुभयो । कास्की २ मा पार्टीका तर्फबाट उम्मेदवार खेमराज पौडेल आफ्नो पनि गुरु भएको स्मरण गर्दै उहाँले पौडेल जस्तो इमान्दार र त्यागी नेतालाई जिताएर पठाए कास्केली जनताको इज्जत बढ्ने स्पष्ट पार्नुभयो ।
पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले मङ्सिर १४ गते हुने उपनिर्वाचनले वर्तमान सरकारलाई सशक्त सन्देश दिने बताउँदै सरकारलाई सच्याउनका लागि पनि काँग्रेसले जित्नुपर्ने जिकिर गर्नुभयो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रिमण्डल हेरफेरले नै नेकपा नेतृत्वको सरकारका असफलतालाई उजागर गरेको बताउनुभयो ।
सरकारले पूरा गर्न नसकेका कुरा जिम्मेवार प्रतिपक्षीको हिसाबले काँग्रेसले एकएक हिसाब गरेर बसेको बताउँदै उहाँले जनताका लागि यो उपनिर्वाचन सरकारले कामको मूल्याङ्कन गर्ने अवसर भएको धारणा राख्नुभयो । कार्यक्रममा काँग्रेस नेताहरू प्रदीप गिरि, धनराज गुरुङ, तारानाथ रानाभाट, सुवास सिग्देल, शारदा गिरी, कृष्णमान ठुसाजू लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।































प्रतिक्रिया