काठमाडौंको नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक डा. प्रभु जोशीलाई ठक्कर दिएर भागेको बस प्रहरीले रामेछापमा पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा३ख ६१४ नम्बरको उक्त यात्रुबाहक बस रामेछापमा पक्राउ गरिएको हो।
७२ वर्षीय जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा बिहान करिब ६ बजे संसद भवनको दक्षिण गेट अगाडि बसले ठक्कर दिएको थियो। जेब्राक्रस नजिकै गाडीको ठक्करले जोशीको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटना क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धानबाट डाक्टरलाई ठक्कर दिने सवारीसाधन त्यही भएको किटान गरिएको छ। तर, बस चालकले सो कुरा स्वीकार गरेका छैनन्। तसर्थ प्रहरीले पक्राउ परेका व्यक्तिको नाम खुलाएको छैन । प्रहरीले गाडी र चालकमाथि अनुसन्धान जारी रहेको बताएको छ ।
‘पैदलयात्री (मृतक) सँगसँगै सो गाडी क्रस भएको देखिन्छ, मृतक सडकपारि गएको देखिँदैन,’ परिसर प्रवक्ता होविन्द्र बोगटीले भने, ‘त्यसकारण दुर्घटनामा संलग्न सवारी त्यही हो भन्ने किटान गरिएको छ।’
उक्त गाडी पुरानो बसपार्कबाट रामेछापका लागि बिहान हिँडेको थियो। गाडी काठमाडौं-रामेछाप रुटको हो।
त्यसदिन उक्त गाडी नयाँ बसपार्क, भक्तपुर, काभ्रे हुँदै रामेछाप पुगेको थियो। तर, सिसिटिभी फुटेजमा सवारी पहिचान स्पष्ट नभएकाले प्रहरीले तत्काल कसैलाई पक्रन सकेको थिएन।































प्रतिक्रिया