काठमाडौं,
राहदानी विभागले हराएको २ लाख ६ हजार ८ सय ६६ पासपोर्ट इन्टरपोलमा राखेको जनाएको छ । विगत ९ वर्षदेखि हराएका र चोरी भएका नेपाली पासपोर्ट दुरुपयोग रोक्नका लागि इन्टरपोलमा राखेको राहदानी विभागले जनाएको हो । विभागको तथ्यांक अनुसार नौ वर्ष यता ६० लाख राहदानी जारी भएकोमा वार्षिक करिब २३ हजार नेपाली पासपोर्ट हराउने गरेका छन् । विभागको तथ्यांकलाई आधार मान्दा दैनिक ६३ वटा राहदानी हराएको रिपोर्ट विभागमा आउने गर्छन् । यो संख्या विभागको जानकारीमा आएको रेकर्ड मात्रै हो ।
राहदानी विभागका अनुसार हराएको सो पासपोर्ट प्रहरीको इन्टरपोल शाखामार्फत् इन्टरपोलमा रेकर्ड राखेको हो । विभागले हस्तलिखित पासपोर्ट भने इन्टरपोलमा राखेको छैन । हस्तलिखित पासपोर्ट हटेर मेसिन रिडएबल पासपोर्ट जारी हुन थालेपछि हराएका र चोरी भएको पासपोर्ट इन्टरपोलमा राख्दै आएको छ ।
विभागले ११ पुस २०६७ देखि एमआरपी जारी गर्न सुरु गरेको हो । नेपाल लगायत अन्य मुलुकले पनि पासपोर्ट हराएमा इन्टरपोलमा राख्ने गर्दछन् । इन्टरपोलले यसलाई आफ्नो ‘सिस्टम’मा राखेको छ, जसको पहुँच अध्यागमन कार्यालयलाई दिइएको छ ।
दुरुपयोग गरे तीन वर्ष कैद, ५ लाख जरिवाना
राहदानी ऐनको दफा २२ को १ मा राहदानी कसुर गर्नेलाई २ लाखदेखि ५ लाख रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद सजाय पाउने व्यवस्था छ । त्यस्तै आफ्नो नामको राहदानी अरूलाई प्रयोग गर्न दिएमा वा ऐनमा उल्लेख भए विपरीत काम गरेमा सजाय हुने व्यवस्था उल्लेख छ । ऐनको दफा ३ मा विदेश जाँदा आफ्नो नाममा जारी भई बहाल भएको राहदानी लिएर जानुपर्ने उल्लेख छ । यसलाई उल्लंघन गरे पनि दफा ५ ले दण्डनीय मानेको छ ।
राजधानीबाट





























प्रतिक्रिया