एन्पिनोगले काठमाडौंमा सूचना प्रविधि सम्मेलन गर्ने

एन्पिनोगले काठमाडौंमा सूचना प्रविधि सम्मेलन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इन्टरनेट सेवाप्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति एवं संस्थाहरूको समूह नेपाल नेटवर्क अपरेटर्स (एन्पिनोग) ले यही मङ्सिर २२ देखि २७ गतेसम्म एनपिएनओजी नामक ६ दिने कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यावसायिक साथै प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरूका बीच यस क्षेत्रमा विश्वमा भइरहेको उत्कृष्ट अभ्यासहरूको बारेमा छलफल एवं अनुभव आदानप्रदान हुनेछ । कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहरूले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखा पर्ने समस्या एवं चुनौतीहरूको बारेमा समेत जानकारी हासिल गर्नेछन् ।

ललितपुरमा आयोजना हुने सो कार्यक्रम अन्तर्गत पहिलो दिन प्राविधिक सम्मेलनको आयोजना गरिनेछ भने बाँकी प्राविधिक विषयवस्तुहरू समावेश गरिएको कार्यशाला गोष्ठी हुनेछ । पाँच दिने कार्यशाला र एक दिनको गोष्ठीमा कार्यशाला गरिनेछन् । कार्यशालाका विषयहरू नेटवर्क मनिट्रोलिङ एन्ड अटोम्यासनका साथै नेटवर्क सेक्युरिटी रहेका छन् ।

कार्यक्रमको अन्तिम दिन (मङ्सिर २७ गते) आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वको सूचना तथा संचार प्रविधिको क्षेत्रको वर्तमान अवस्था चुनौतीहरू एवं सफलताका कथाहरूको चर्चा हुनेछ । त्यस बारेमा नेपाल तथा अन्य मुलुकका सूचना तथा संचार प्रविधि क्षेत्र दुरसंचार क्षेत्र, इन्टरनेट सेवादायिककम्पनीबैंक एवं सरकारी प्रतिनिधिहरूले विशेष प्रस्तुति दिनेछन् ।

कार्यशाला गोष्ठीमा एन्पिनोगका सदस्य विशेषज्ञहरूका साथै केही अन्तर्राष्ट्रिय विशेषज्ञहरूले सहभागीलाई ज्ञान एवं सीप प्रदान गर्नेछन् । यो कार्यक्रम स्नातक तहका अन्तिम वर्षमा अध्यननरत विद्यार्थी एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरतहरूका लागि विशेष लाभदायक हुनेछ ।

एन्पिनोगका अध्यक्ष समित जनका अनुसार यो कार्यक्रमले सूचना तथा संचार प्रविधिको विश्वस्तरीय ज्ञान आदानप्रदान गर्दै नेपालमा यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

कार्यक्रमको सहआयोजकको रूपमा इन्टरनेट एक्सचेन्ज नेपाल रहेको छ । कार्यक्रमलाई नेपाल सरकार दूरसंचार प्राधिकरण, नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क इन्टरनेट सेवाप्रदायक संघ र इन्टरनेट सोसाइटी नेपाल च्याप्टरले पनि साथ दिएका छन् ।

Logo