वासिङ्टन,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भइरहेको महाअभियोगबारेको छलफलमा एकपछि अर्को संकट थपिएको छ । ट्रम्पमाथि लागेको महाअभियोग छानबिनका क्रममा भइरहेको सार्वजनिक सुनुवाइमा सहभागी भएका सबैले ट्रम्पको विपक्षमा बयान थिएका छन् ।
डेमोक्रेटिक पार्टीको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको समितिले सार्वजनिक सुनुवाइ गरिरहेको छ । सुरुमा पहिले गोप्य रूपमा भएका सुनुवाइ पछिल्लो समयमा सार्वजनिक रूपमा भइरहेका छन् । सुनुवाइमा बयान दिएका सबैले ट्रम्पले युक्रेनमाथि अनुचित दबाब दिएको बयान दिएपछि ट्रम्पलाई संकट पर्ने देखिएको छ ।
संसदीय समितिले चौथोपटक आयोजना गरेको सार्वजनिक सुनुवाइमा युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सन्डल्यान्ड उपस्थित भए । सन्डल्यान्ड अमेरिकाका सम्पन्न व्यवसायी हुन् । उनले ट्रम्प निर्वाचित भएपछि पनि उनको निर्वाचन अभियानलाई १० लाख डलर चन्दा दिएका थिए भने ट्रम्पले उनलाई उच्च कूटनीतिक जिम्मेवारी प्रदान गरेका थिए । तर, बुधबार भएको सुनुवाइमा उनले दिएको बयान ट्रम्पकै लागि घातक हुने देखिएको छ ।
सुनुवाइका क्रममा आफ्नो भनाइ राख्दै उनले राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने प्रतिस्पर्धामा अग्रस्थानमा रहेका जोए बिडेनमाथि अनुसन्धान गर्न युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई दबाब दिएको र आफूले राष्ट्रपतिको आदेश पालना मात्रै गरेको बताए ।
आफूलाई सो सम्बन्धमा ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीले निर्देशन दिएको राजदूत सन्डल्यान्डले समितिसमक्ष बताएका छन् ।
राष्ट्रपति ट्रम्पले निहित स्वार्थ या सर्त राखेर युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको आरोप लागेको छ । ट्रम्पले भने आफूले कुनै दबाब नदिएको भन्दै आरोप अस्वीकार गर्दै आएका छन् । राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानुनी कदम हो । ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्वअमेरिकी उपराष्ट्रपति जोए बिडेन र उनका छोरा हन्टर बिडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न आग्रह गरेका थिए ।
उनले छानबिन नगरेमा युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने धम्की दिएका थिए । जसबाट ट्रम्पलाई आगामी निर्वाचनमा विजयी बन्नका लागि सहयोग पुग्ने अपेक्षासहित उनले विपक्षी नेतामाथि भ्रष्टाचारको छानबिन गराउन खोजेको आरोप छ ।
सुनुवाइका क्रममा राजदूत सन्डल्यान्डले ट्रम्पले जुलियानीमार्फत सन् २०१६ को चुनावमा रुसले नभई युक्रेनले दखल दिएको भनेर समेत अनुसन्धान थाल्न आग्रह गरेको बताएका छन् । सन्डल्यान्डले यो दबाबको विदेशमन्त्री माइक पोम्पेओलाई समेत जानकारी रहेको र ट्रम्पकै निर्देशनमा युक्रेनमाथि दबाब सिर्जना गरिएको उल्लेख गरेका छन् ।































प्रतिक्रिया