काठमाडौं,
छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गर्नुभएको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्नुहुने भएको छ । पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ।
‘राष्ट्रपति पुटिनको तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता (रूस) बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ।’ –प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्रोतले भन्यो।
नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारको उत्खनन र खरिद गर्न चासो लिँदै रूसले पुटिनको भ्रमणको तयारी गरेको सो कार्यालयका उच्च अधिकारीले बताए । इन्धन र परमाणु हतियारको मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गरिने युरेनियम चिकित्साशास्त्र, भौगर्भिक अध्ययनसहित विभिन्न प्रकृतिका वैज्ञानिक खोज अनुसन्धानमा समेत प्रयोग हुने गर्छ।
रूस युरेनियम प्रशोधन गर्ने विश्वकै पहिलो सूचीमा रहेको छ।खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथानमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेपछि सो क्षेत्रको निगरानी नेपाली सेनाले गर्दै आएको छ।
पुटिन भ्रमणका क्रममा नेपाललाई ३ खर्ब रुपियाँ हाराहारीको ‘सफ्ट लोन’ दिने प्रारम्भिक प्रस्तावसमेत आएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। उच्चस्तरीय भ्रमणको वातावरण तय गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भोलि शनिबार रूसको राजधानी मस्को जाँदै हुनुहुन्छ।
उहाँ रसियाली समकक्षी सर्गेइ लावरोवको मैत्रीपूर्ण निमन्त्रणामा मस्को जाने तयारीमा जुट्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तर पुटिनको नेपाल भ्रमणबारेको विस्तृत खबर आफूलाई प्राप्त नभएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बताउनुभयो।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया