बालिकाको ज्यान गएपछि फरार, राजधानीमै नक्कली डाक्टर

बालिकाको ज्यान गएपछि फरार, राजधानीमै नक्कली डाक्टर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

बुढानीलकण्ठ नगरपालिका–८ सुन्दरबस्तीकी १० वर्षीया कृष्मा खतिवडालाई तीन साता अघि सामान्य ज्वरो आयो। आफन्तले कात्तिक १० गते भंगालमा रहेको अक्सिजन नेसनल मेडिकल पुर्याए। त्यहाँ डाक्टरका रुपमा कार्यरत अंगतमणि श्रेष्ठले कृष्मालाई ज्वरोले च्यापेको भन्दै भर्ना गरेर स्लाइन चढाउनु पर्ने बताए । आफन्तले कृष्मालाई मेडिकलमै भर्ना गरे।

बाबुआमा वैदेशिक रोजगारमा रहेकाले कृष्मा हजुरबुवा लगायत आफन्तसँग बस्थिन् । दुई दिन मेडिकलमा राखेपछि श्रेष्ठले औषधि दिएर उनलाई घर पठाए । छोरी बिरामी भएको थाहा पाएपछि बाबुआमा १६ गते बेलुकी जापानबाट नेपाल फर्किए। १७ गते दिउँसो फेरि कृष्मालाई ज्वरो बल्झियो। हजुरबुवाले त्यहीं लगौं भनेपछि पहिलेकै मेडिकल लगे। श्रेष्ठले फेरि पनि भर्ना गरेर स्लाइन दिनुपर्ने दोहोर्याए। त्यसपछि उनी त्यहाँ दोस्रोपल्ट भर्ना भइन्।

भर्ना भएको भोलिपल्ट श्रेष्ठले बिरामीलाई एउटा एन्टिबायोटिक औषधि खुवाउनु पर्ने आफन्तलाई बताए। डाक्टरले सोधेपछि आफन्तले नाइँ भन्ने कुरो भएन। श्रेष्ठले बिरामीलाई औषधि खुवाए। त्यसको भोलिपल्टदेखि कृष्माले बारम्बार बान्ता गर्न थालिन्। यस्तो देखेर बाबुआमा डराए। श्रेष्ठले बिरामीलाई सास फेर्न गाह्रो भएकाले १० दिनसम्म खुवाउने औषधि लेखिदिए। त्यसपछि उनी दोस्रोपल्ट डिस्चार्ज भइन्।

डिस्चार्ज गर्ने बेला श्रेष्ठले आफू लामो बिदामा बस्ने भएकाले मेडिकल नआउनू भनेका थिए। डिस्चार्जपछि कृष्मालाई ज्वरोले झन् सतायोे। ज्वरो बढेपछि आफन्तले १९ गते बिहान उनै डाक्टर श्रेष्ठलाई फोन गरे। श्रेष्ठले अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा लैजान अहए । त्यही दिन आफन्तले कृष्मालाई बालमैत्री अस्पताल पुर्याए। त्यहाँ चिकित्सकले कृष्माको छातीको एक्सरे गरे। रिपोर्टमा निमोनियाले ढाकेको देखियो अनि उनलाई आइसियुमा भर्ना गरियो। तर उनको रोग निको भएन बरु भर्ना भएको ६ दिनपछि ज्यान गयो।

त्यसयता आमा मञ्जु खतिवडा (बस्ताकोटी) विक्षिप्त जस्तै छिन्, घरि रुन्छिन्, घरि टोलाउँछिन्। ‘सबै गाउँलेले त्यही मेडिकलमा उपचार गराउँथे, छोरीलाई पनि त्यहीं लग्नुभएको रहेछ। हामी जापान थियौं। छोरी बिरामी परेपछि नेपाल आएका हौं। यहाँ आएर बुझ्दा त्यो मेडिकल दर्तै रहेनछ, डाक्टर पनि नक्कली रहेछन्,’ मञ्जुले भक्कानिँदै भनिन्।

डाक्टर नै नक्कली

अक्सिजन नेसनल मेडिकलका सञ्चालक श्रेष्ठ नक्कली डाक्टर भएको प्रमाण भेटिएको छ। उनका शैक्षिक प्रमाणपत्र र अन्य कागजात नक्कली भएको भेटिएको हो । उनका प्रमाणपत्रमा दुईवटा नाम छन्। मेडिकलमा उनले डाक्टर अंगतमणि श्रेष्ठ भनेर नेमप्लेट बनाएका छन्। कागजातमा उनको नाम कृष्णबहादुर उल्लेख छ। उनको वास्तविक ठेगाना सिन्धुली हो तर उनले आफू काठमाडौंकै स्थायी बासिन्दा भएको बताउँदै आएका छन्। उनले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबाले हस्ताक्षर गरेको ‘वल्र्ड टपर’ नामक नक्कली सर्टिफिकेट समेत बनाएका छन्।
नागरिकबाट

Skip This
Skip This
Logo