क्विन्स काव्य सन्ध्या अब हरेक महिनाको अन्तिम दिन

क्विन्स काव्य सन्ध्या अब हरेक महिनाको अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु संवाददाता । अंग्रेजी र नेपाली दुई फरक फरक भाषामा कलम चलाइरहेका कविहरूले हरेक महिना सामूहिक कवि गोष्ठी एवं साहित्यिक बहस सुरु गरेका छन् । महिनाको अन्तिम दिन क्विन्स क्याफे एन्ड गार्डेन रेष्टुराँ ललितपुरमा उक्त कार्यक्रम हुने जनाइएको छ ।

कात्तिकको अन्तिम दिन भएको कविता वाचन एवं साहित्यिक डिस्कोर्समा साहित्यकारहरू स्नेह सायमी, गोविन्द गिरी प्रेरणा, भीष्म उप्रेती, अश्विनी कोइराला, रुपसिं भण्डारी र सुवास पराजुलीले भाग लिए । उनीहरूले आफ्ना उत्कृष्ट तीन तीन वटा रचना सुनाएका थिए । उनीहरूका रचनामाथि आगन्तुकहरूले तीन–तीन मिनेट समालोचकीय दृष्टिकोण राखेका थिए ।

समालोचकीय दृष्टिकोण राख्नेहरूमा अंग्रेजी साहित्यकी अध्यापक स्मृति गुरुङ र अंग्रेजी साहित्य स्नातकोत्तर तहकी छात्रा उर्मीला गुरुङ थिए । सहभागी कविहरूले पनि एक अर्काको रचनाको कमजोर पक्ष देखाएका थिए ।

‘आजभोलि लेखकलाई चित्त दुख्ला भन्ने सोचेर खुला आलोचना हराएको छ । यो चिन्ताको विषय हो ।‘ कवि सायमीले केन्द्रविन्दुसँग भने, ‘थोरै कविका उत्कृष्ट रचना सुन्ने र त्यसका कमजोरीहरूमाथि खुला छलफल गर्ने योजनाका साथ हामीले यो कार्यक्रम सुरु गरेका हौं ।

कविताजस्तो गम्भीर कुरा भीडभाडमा सुनाउने, साहित्यिक आलोचनाभन्दा व्यक्तिगत आलोचना बढी गर्ने प्रवृत्ति बढ्दै गएपछि यस्ता कार्यक्रमको महत्व बढेर गएको कवि तथा नियात्राकार भीष्म उप्रेतीको भनाइ थियो ।

‘साहित्य भनेको बजारबाट निर्देशित हुनु हुँदैन । बजारले खास साहित्य दिन सक्दैन ।’ उप्रेती भन्छन्,‘जहाँ बजार पस्छ, त्यहाँ उपभोक्ता हुन्छन् । उपभोक्ता भएपछि उनीहरूको रुचिका कुरा बजारले पस्कन्छ । जहाँ बजारको रुचिको कुरा आउँछ, त्यहाँ साहित्य बाँच्न सक्दैन ।‘

नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारी रहिसकेका उप्रेतीका विचारमा कविता कविको निजी कुरा हो, त्यो बचाउन यस्ता कार्यक्रमको आवश्यकता परेको हो ।

आगामी कार्यक्रम मंसिरको अन्तिम दिन क्विन्स क्याफे एन्ड गार्डेन रेष्टुँरा, बखुण्डोल, ललितपुरमा साँझ ४ बजे हुने बताइएको छ ।

Skip This
Skip This
Logo