उम्मेदवारको अन्तिम नामावली आज

उम्मेदवारको अन्तिम नामावली आज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ मनोनयन भएका उम्मेदवारको अन्तिम नामावली आज आइतबार दिउँसो ३ बजेदेखि  ५ बजेसम्म प्रकाशित हुने जनाएको छ। यसअघि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको छ।

आयोगको निर्वाचन कार्यतालिकाअनुसार मनोनयन भएका उम्मेदवारको नामावली शनिबार प्रकाशन गरिएको छ। मनोनयन दर्ता गरिएका उम्मेदवारहरूको जाँचबुझ गरी नामावली प्रकाशित गर्नुपर्नेमा उम्मेदवारको विरोधमा कुनै उजुरी नपरेपछि जाँचबुझ गर्न नपरेको आयोगको भनाइ छ।

उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले शुक्रबार बिहान ११ बजेदेखि ५ बजेसम्म तोकेको अवधिमा कुनै उम्मेदवारको विरोधमा उजुरी नपरेको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि यही मंसिर १४ गते ३७ जिल्लामा विभिन्न क्षेत्रमा उपनिर्वाचन हुनेछ।

यसमध्ये कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा, भक्तपुरको निर्वाचन क्षेत्र नं १ को १,बाग्लुङको क्षेत्र नं २ को २ र दाङ क्षेत्र नं ३ को २ मा प्रदेशसभा सदस्यका लागि गत बिहीबार उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि त्यहाँका मुख्य निर्वाचन अधिकृत कार्यालयमा २२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्। यसैगरी प्रदेशसभाका लागि भक्तपुर निर्वाचन क्षेत्र नं १ को १, बाग्लुङको क्षेत्र नं २ को २ र दाङ क्षेत्र नं ३ को २ मा क्रमशः १९, १०, र १४ जना गरी ४३ जनाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन्। उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि भोलि सोमबार २५ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ।

नेपाल समाचारपत्रबाट

 

Skip This
Skip This
Logo