प्रधानमन्त्रीलाई मुस्कानको पत्र- “तपाईंको ठाउँमा म भएको भए फाँसी दिन्थे” (भिडियो)

प्रधानमन्त्रीलाई मुस्कानको पत्र- “तपाईंको ठाउँमा म भएको भए फाँसी दिन्थे” (भिडियो)

केन्द्रबिन्दु
0
Shares

एसिडपीडित मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्मिक पत्र लेखेकी छन् । एसिड आक्रमणमा परी कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरमा उपचाररत खातुनले आफूलाई एसिड प्रहार गर्नेलाई फाँसी दिन माग गर्दै पत्र लेखेकी हुन् ।

यस अघि एसिड आक्रमण गर्नेलाई कडाभन्दा कडा सजाय नदिएकाले अहिले आफू पीडित बन्न परेको भन्दै उनले आफ्नो पीडा बुझिदिन प्रधानमन्त्री समक्ष आग्रह गरेकी छन् । यसअघि एसिड आक्रमणमा परेका जेनी खड्का र संगिता मगरलाई संम्झिँदै उनले अब कोही पनि छोरीचेली एसिड आक्रमणमा परी अस्पताल आउन नपरोस् भन्ने कामना पनि गरेकी छिन् । उनले लेखेको पत्रमा सरकारसँग दुई तिहाइको समर्थन रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको स्थानमा आफू भएको भए एसिड आक्रमणकारीलाई फाँसीको सजाय दिने उल्लेख गरेकी छिन् ।

वीरगन्ज ३ छपकैयाकी मुस्कानमाथि गत भदौ २० गते एसिड आक्रमण भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको आरोपमा उनीमाथि एसिड प्रहार गर्ने वीरगन्जकै मजिद मियाँ र शमशाद मियाँ पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला अदालत पर्साको आदेश अनुसार बालसुधार गृहमा राखिएको छ ।

पढाइमा अब्बल मुस्कान ९ कक्षामा अध्ययनरत छिन् । १२ कक्षा पास गरेपछि जागिर खाएर परिवारलाई सहयोग गर्ने सोच बनाएकी मुस्कान रसुल र सहनाजका पाँच सन्तान मध्येकी माइली हुन् । उनकी १७ वर्षकी दिदीको बिहे भइसकेको छ भने उनका १२ वर्ष र ८ वर्षका दुई भाइ र ५ वर्षकी एक बहिनी छन् ।

मुस्कानको स्वास्थ्य लाभको कामना गर्दै बलिउड अभिनेता अमिताभ बच्चन, बरुण धवन, शाहरुख खानलगायतले भिडियो सन्देश पठाएका थिए । महानायक राजेश हमाल, गायक राजु लामा लगायतले पनि अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेका थिए । त्यस्तै नेपाली क्रिकेट टिमका प्रशिक्षक उमेश पटवाल, कप्तान पारस खड्का, सोमपाल कामीलगायत पनि अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेका थिए ।

सरकारले एसिडपीडित जेनी खड्का र मुस्कान खातुनलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । दोलखा डाँडागाउँ माकु–४ की २० वर्षीया जेनी खड्कामाथि सँगै बस्न नमानेको भन्दै काभ्रे नमोबुद्ध–४ फूलबारीका विष्णु भुजेलले एसिड प्रहार गरेका थिए ।

मुलुकी अपराध संहिता ऐनको दफा १९३ मा कसैले तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी शरिरमा पीडा गराउने वा कुरुप पार्ने काम गर्नु वा गराउन नहुने उल्लेख छ । अपराध संहिता अनुसार अनुहार कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । त्यसैगरी शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा र्पुयाएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।

यस्तो छ मुस्कानले प्रधानमन्त्री ओलीलाई लेखेको पत्र

Skip This
Skip This
Logo