यो तिहारमा पनि नखुल्ने भो बालगोपालेश्वर

यो तिहारमा पनि नखुल्ने भो बालगोपालेश्वर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर यस वर्ष पनि नखुल्ने भएको छ । वि.सं. ०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा ढिलाइ हुँदा यस वर्षको तिहारमा पनि बालगोपालेश्वर मन्दिर नखुल्ने भएको हो ।

सोही वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो । वि.सं ०७३ को भाइटीकामै मन्दिर खुला गरिने उद्देश्यले निर्माण गर्न लागिएको उक्त मन्दिर चार वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन ।

बालगोपालेश्वर मन्दिर, मन्दिरसम्म पुग्ने पुल र पोखरी वरपरको बगैँचा निर्माणको ठेक्का सम्झौतामै ढिला हुँदा यो तिहारमा पनि मन्दिर खुल्न नसकेको सरोकारवालाहरू बताउँछन् । बालगोपालेश्वर मन्दिर मात्रै भए पनि तिहार अघि खुलाउने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयारी गरे पनि मन्दिर र पुलको काम अझै ४० प्रतिशत बाँकी छ ।

भाइटीकाका दिन मन्दिरको पश्चिम ढोकामा बालगोपालेश्वरको मूर्ति राखी पूजा गर्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धर बताउनुहुन्छ । “रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण सम्पन्न गरी यो तिहारमा खुला गर्ने तयारीमा थियौँ तर पुनःनिर्माणको ठेक्का सम्झौता ढिला हुँदा सम्भव भएन”, उहाँ भन्नुहुन्छ, “मन्दिरसम्म पुग्ने पुलको बीचमै मूर्ति राखेर पनि टीका लगाउन आउने भक्तजनलाई सहज बनाउने प्रयासमा छौँ ।”

हाल मन्दिर वरपर सफाइ, र मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ निर्माण भइरहेका छन् । बाहिरबाट देखिने रूपमा काम नभए पनि पुनःनिर्माणका लागि आवश्यक पर्ने सामग्री निर्माण भइरहेका छन् । मन्दिर पुरानै शैली (ग्रन्थकुट÷शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दिनदेखि १० महीनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिएर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको थियो ।

“हामीले ठेक्का दिँदैमा ढिला भयो । दुई महीनाको अवधिमा धेरै काम भएको छ”, प्राधिकरणका सम्पदा विज्ञ मानन्धर भन्नुहुन्छ, “काम भएन भनेर निर्माण कम्पनीसँग गुनासो गर्ने ठाउँ छैन ।” शुरुआती चरणमा पुरातत्व विभागले मन्दिर पुनःनिर्माणका लागि मात्रै एक करोड ४० लाखमा ठेक्का सम्झौता गरेको थियो । उक्त सम्झौतामा मन्दिरसम्म पुग्ने पुल थिएन । हाल प्राधिकरणले मन्दिर निर्माणका लागि १४ करोड २७ हजार ५५७ मा ठेक्का सम्झौता गरेको छ ।

रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत नौ करोड ९७ लाखमा बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले २५ करोड बजेट विनियोजन गरेको छ । चन्द्र शमशेरको पालामा पुनःनिर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ ।

Skip This
Skip This
Logo