सिमान्तकृत समुदाय समयानुकुल परिवर्तन हुनुपर्छ : मुख्यमन्त्री पौडेल

सिमान्तकृत समुदाय समयानुकुल परिवर्तन हुनुपर्छ : मुख्यमन्त्री पौडेल

केन्द्रबिन्दु
0
Shares

मकवानपुर,

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अत्यन्त सिमान्तकृत माझी समुदाय समयानुकुल परिवर्तन हुनुपर्ने बताउनु भएको छ । ती समुदायले खोला र जालमा मात्र सीमित नभई सांसद, सङ्घसंस्था, कार्यालय तथा खेल क्षेत्रका विभिन्न मञ्चमा समेत आफूहरुलाई उभ्याउनु पर्नेमा उहाँको जोड थियो ।

हरेक जातजाति, वर्ग तथा समुदायका नागरिकले सशक्त भूमिका निर्वाह गरेर देशका हरेक निकायलाई सफल बनाउनु पर्ने उल्लेख गर्दै उहाँले विकास निर्माणको अभियानमा हातेमालो गर्न आग्रह गर्नुभयो । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा शुरु भएको पहिलो राष्ट्रिय माझी गोल्डकप फूटबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले देशलाई संसारभर चिनाउने सबैभन्दा महत्वपूर्ण माध्यम खेल भएको बताउनुभयो ।

प्रतिनिधिसभाका अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले आफ्नो समुदायलाई माथि उठाउन माझी समुदायले गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । प्रदेश ३ का प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले खेलको विकासले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

माझी उत्थान समाजद्वारा मकवानपुरको बकैयामा आयोजित गोल्डकपमा विभिन्न जिल्लाका १७ वटा फूटबल क्लबहरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । गोल्डकपको शुक्रबारको उद्घाटन खेलमा मकवानपुरले बारालाई ३–० ले पराजित गरेको छ । मकवानपुरका तर्फबाट अनिल माझी, समित माझी र अरुण माझीले एक एक गोल गरेका थिए भने खेलमा बाराका खेलाडी भगत माझी म्यान अफ द म्याच घोषित भए ।

Skip This
Skip This
Logo