कलङ्की–महाराजगञ्ज सडकमा दुई वटा अण्डर पास

कलङ्की–महाराजगञ्ज सडकमा दुई वटा अण्डर पास

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

चक्रपथको दोस्रो चरणको विस्तारका रुपमा रहेको कलङ्की–महाराजगञ्ज सडकमा दुई वटा ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुने भएको छ । झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले आगामी चैतमा सडक हस्तान्तरण गर्ने भएको छ ।

पहिलो चरणको विस्तार (कोटेश्वर–कलङ्की) सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । उहाँले भन्नुभयो, “पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएको गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।”

वालाजु चोक र महाराजगञ्ज चोकमा गरी दुई स्थानमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ । आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । महाराजगञ्ज चोकमा कलङ्की चोकमा जस्तै अण्डर पास हुनेछ । यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको प्रमुख थापाले जानकारी दिनुभयो । बालाजुमा निर्माण हुने ‘अण्डरपास’ मा भने ‘क्रसिङ’ तल हुनेछ ।

पैदल यात्रुलाई सडक पार गर्न प्रत्येक एक/एक किलोमिटरमा एउटा आकाशे पुल निर्माण हुने थापाले जानकारी दिनुभयो । जम्मा नौ आकाशे पुल निर्माण हुने गरी डिजाइन भइरहेको छ । सडक बिस्तारका लागि चीन सरकारलाई हस्तान्तरण गर्न सरकारले अहिले सडकको अधिकार क्षेत्र खाली गराउन शुरु गरेको प्रमुख थापाले बताउनुभयो ।

यस सडकमा रुख काट्ने, पोल सार्ने लगायतका तयारी भइरहेको छ । केही महीनामै काम सम्पन्न गर्ने उहाँले बताउनुभयो । सम्पूर्ण तयारी सकिए पनि सरकारले चीन सरकारलाई सडक निर्माणका लागि हस्तान्तरण गर्नेछ । चीन सरकारले झण्डै पाँच÷छ महीना तयारीको काम गरेर निर्माण शुरु गर्ने उहाँले बताउनुभयो ।

सडकको अधिकार क्षेत्रमा घरटहरा लगायतका संरचना हटाउनु पहिलो चरणमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको छ । स्वयम्भू, ठूलो भ¥याङ, महाराजगञ्ज चोक लगायतका स्थानमा सडक छेउमा संरचना हटाउनु समस्या रहेको छ । स्वयम्भूमा बुद्धको ठूलो मूर्ति रहेकामा त्यसलाई समेत सार्नुपर्ने उहाँले बताउनुभयो ।

पहिलो चरणमा समस्या देखिएका कुरामा सुधार भए पनि अरू कुरामा दोस्रो चरण पनि झण्डै पहिलो जस्तै हुने विभागले जनाएको छ । मुख्य सडकबीचमा रहनेछ भने त्यसको दुवैतर्फ दुई/दुई लेनको सहायक सडक हुनेछ । सहायक सडकमा प्रवेश गर्नका लागि सडकको दुवैतर्फ एक/एक लेनको सर्भिस ट्र्याक रहने गरी डिजाइन भएको छ । सवारी चालकले पहिले सर्भिस ट्र्याकबाट सहायक सडकमा प्रवेश गरेर मात्रै मुख्य सडकमा प्रवेश गर्न पाउँछन् । त्यस्तै सहायक सडकबाट एउटा चोकमा पुगेर मात्रै मुख्य सडक वा मुख्य सडकबाट सहायक सडक गर्न पाउने गरी डिजाइन भइरहेको छ ।
रासस

Skip This
Skip This
Logo