काठमाडौं । नेपालकी बोनिता शर्मा विश्वका प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएकी छन् । द सोसल चेन्जमेककर्स एण्ड इनोभेटर्सकी संस्थापक रहेकी बोनिता बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने संसारभरका शक्तिशाली एक सय महिलाको सूचीमा पर्न सफल भएकी हुन् ।
उनले नेपालका महिला तथा बालिकालाई शिक्षा तथा सशक्तिकरणका लागि सहयोग गर्दै आएकी छिन् ।कुपोषणका कारण हुने बाल मृत्युदर घटाउन उनले न्यूट्रिबेड्स डिजाइन गरेकी छिन् । न्यूट्रिबेड्स एउटा यस्तो ब्रासलेट हो जुन भिन्न रङका दानाले बनाइएका हुन्छन् जसले नयाँ आमाहरुलाई आफ्नो नवजात शिशुलाई के खुवाउने भनेर सचेत गराउँछ ।
उनको यो प्रोजेक्ट युनेस्को मलाला फन्ड फर गर्ल्स राइट टु एजुकेट कोषमार्फत् पुरस्कृतसमेत भएको छ । सय प्रभावशाली महिलाको सूचीमा समावेश भएकोमा सामाजिक सञ्जाल मार्फत खुशी व्यक्त गरेकी छन् । उनले लेखेकी छिन्, ‘मैले रोलमोडलको रुपमा हेर्ने महिलाहरुको सूचीमा आफूलाई पनि पाउँदा निकै खुसी छु । यसले मलाई थप सशक्त महसुस गराएको छ ।’
उनीसँगै संसारका अन्य ९९ महिलालाई पनि बिबिसीले प्रेरणादायी तथा प्रभावशालीको सूचीमा राखेको छ । बीबीसीले सन् २०१३ बाट हरेक वर्ष विश्वभरबाट सय प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको छ । उक्त सूचीमा सात भारतीय महिला पर्न सफल भएका छन् ।





























प्रतिक्रिया