काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषदमा नौ सदस्य नयाँ थप गरेका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । पार्टीभित्रको विवादका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालय र अन्य मन्त्रालयमा सोही पार्टीका तर्फबाट नयाँ नियुक्ति तथा हेरफेर भएको हो ।
थप भएका नयाँ मन्त्रीमा सिंचाइ, ऊर्जा तथा जलस्रोतमा टोपबहादुर रायमाझी, शहरी विकासमा प्रभु साह, खानेपानीमा मणि थापा, वन तथा वातावरणमा प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिलामा गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा जुलीकुमारी महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा गौरीशङ्कर चौधरी, युवा तथा खेलकूदमा दावा लामा र उद्योग राज्यमन्त्रीमा विमला विश्वकर्मा रहका छन् ।
नयाँ जिम्मेवारी पाएका मन्त्रीमा स्वास्थ्य तथा जनसङ्ख्यामा हृदयेश त्रिपाठी, शिक्षा, विज्ञान तथा प्रविधिमा कृष्णगोपाल श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा भानुभक्त ढकाल, कृषि तथा पशुपक्षीमा पद्माकुमारी अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमा डा शिवमाया तुम्बाहाङ्फे र न्याय, कानून तथा संसदीय मामिलामा लीलानाथ श्रेष्ठ रहेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शपथ ग्रहणपछि नयाँ मन्त्रीहरुसहितको मन्त्रिपरिषद्को बैठक आजै साँझ बसेको छ ।
नयाँ मन्त्रीद्वारा शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त आठ मन्त्रीलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना लगायतको उपस्थिति थियो । थप भएका नयाँ मन्त्रीहरु सिँचाइ, ऊर्जा तथा जलस्रोत टोपबहादुर रायमाझी, शहरी विकास प्रभु साह, खानेपानी मणि थापा, वन तथा वातावरण प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिला गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक जुलीकुमारी महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षा गौरीशङ्कर चौधरी र युवा तथा खेलकूद दाबा लामाले शपथ लिएका हुन्।
यसैबीच नवनियुक्त उद्योग राज्यमन्त्री विमला विश्वकर्मालाई प्रधानमन्त्री ओलीले शपथ गराएका थिए। प्रधानमन्त्रीले आज मौजुदा मन्त्रिपरिषदमा नयाँ ८ सदस्य थप गर्नाका साथै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए ।





























प्रतिक्रिया