अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अर्घाखाँची प्रहरीले जनाएको छ ।
कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्बरको जीप सन्धिखर्क नगरपालिका ६ नरपानी नजिकै सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
घटनामा मृत्यु हुनेमा अर्घाखाँचीको ढाकाबाङ्ग पहाड घर भइ हाल दाङ्ग लमही बस्दै आएका ५० वर्षीय घनश्याम खनाल छन् । ज्यान गुमाउने अन्य दुई जनाको सनाखत हुन बाँकी छ ।

घाइते हुनेमा जीप चालक कपिलवस्तु, बुद्धभूमिका विरेन्द्र श्रेष्ठ, भूमिकास्थान–१०, धनचौरका उमेश रेग्मी, दाङ्ग लमही–५ की अनिता खनाल, बिन्दु खनाल, भूमिकास्थान–१० की सिमा रेग्मी र उनका १ वर्षीय छोरा आदित्य रेग्मी रहेको अर्घाखाँची प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।
घाइतेमध्ये चार जनालाई उपचारको लागि चौराह अस्पताल बुटवल ल्याइएको छ । जीप ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी ‘ब्रेक फेल’ भएर दुर्घटना भएको चालक श्रेष्ठको भनाइ छ ।
घटनस्थलमै पुगेर प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रकाश विष्ट, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक माधब रेग्मीसहितको टोलीले उद्धार गरेको थियो ।





























प्रतिक्रिया