काठमाडौं । टेकुस्थित काठमाडौं प्रहरीको हिरासतमा अनौठो दृश्य देखिन्छ । प्रहरी हिरासतमा रहेकाहरूको आ–आफ्नै धुन हुन्छ, आ–आफ्नै लय हुन्छ । त्यही भीडमा छन्, आमा, छोरी र छोरा । उनीहरू एक आपसमा भेट हुँदा टाउको जोडेर रुन्छन् । आमा र छोरी महिला हिरासत कक्षमा छन् भने छोरा पुरुष हिरासत कक्षमा छन् । आमा लक्ष्मी तामाङ र छोरी निर्मला तामाङ रोइरहन्छन् । छोरा निमा पनि रोएरै बस्छन् ।
नुवाकोटको मेघाङ गाउँपालिका वडा नम्बर ४ की ४० वर्षीया लक्ष्मी लामा तामाङ, उनकी २० वर्षीया छोरी निर्मला र १८ वर्षीय छोरा निमा कृषि विकास बैंकको एटिएम ह्याक गरेर पैसा लुट्ने प्रकरणमा पक्राउ परेका हुन् ।
नुवाकोटकै मेघाङ गाउँपालिका ४ का ४३ वर्षीय लवाङ तामाङको आर्थिक लोभमा परेर उनीहरू यो प्रकरणमा मुछिएका थिए । नजानेर वा केही आर्थिक लोभमा परेर यो पूरै परिवार नराम्रोसँग फसेको छ । लक्ष्मीका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा छन् । तर परिवारका तीनै सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक भएको प्रकरणमा फसेका छन् ।
प्रहरी अधिकारीहरू पनि परिवारको त्यस्तो अवस्था देख्दा नराम्रो अनुभव गर्छन् । तर के गर्ने कानुनले उनीहरूलाई दोषी ठहर गरेको छ । एक प्रहरी अधिकारी भन्छन्, ‘छोराछोरीको अलिकति पनि दोष छैन, तर के गर्ने ? कानुन कठोर हुन्छ । लक्ष्मीका छोराछोरीलाई केही पनि थाहा छैन, ती अबोध किशोर किशोरी हुन् । तर के गर्ने कानुनले छोड्न मिल्दैन ।’
लवाङको लोभमा लक्ष्मी
केही रकम पाउने लोभमा पानस रेमिटको लग इन युजरमा छिरेर अन्तर्राष्ट्रिय गिरोहले पठाएको रकम यी आमा, छोरी र छोराले बुझेका थिए । त्यही अभियोगमा उनीहरूलाई प्रहरीले संगठित अपराध मुद्दा लगाउन लागेको हो ।
काठमाडौंको तारकेश्वर–२ काभ्रेस्थलीमा सानो घर बनाएर बस्दै आएको लक्ष्मीको परिवार केही प्रतिशत कमिसन पाउने लोभमा पर्यो । जडिबुटी व्यापारी लवाङसँग लक्ष्मीको चिनजान थियो । उनीहरूबीच लेनदेनको कारोबार पनि थियो । लवाङले विदेशबाट लक्ष्मीको खातामा आएको रकम निकाले बापत १० प्रतिशत कमिसन दिने बताए । त्यसपछि लक्ष्मी लोभिइन् ।
यही लोभले उनी मात्र नभएर पूरै परिवार फस्यो । ५ असोज आइतबार छोरा, छोरी र लक्ष्मीले पानस रेमिटबाट ६० हजारको दरले रकम निकाले । त्यो रकम रेमिट्यान्सको लग इन सिस्टममा छिरेर ह्याकरले अवैध तरिकाले पठाएका थिए ।
दिउँसो रकम निकालेकी लक्ष्मीको परिवारको हातमा सोमबार बिहानै प्रहरीले हत्कडी लगायो । ‘आपराधिक मानसिकता नदेखिए पनि लक्ष्मीको परिवार लोभमा परेर आर्थिक अपराधमा लागेको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल बहादुर थापा बताउँछन् ।
त्यो अवैध पैसा निकाल्न लक्ष्मीले आफू मात्र नभएर छोरा र छोरीको पनि खाता प्रयोग गरिन् । २० वर्षीया निर्मला बीए पढ्दै थिइन् । पढाइ सकेपछि उच्च शिक्षा अध्ययनको लागि युरोप अमेरिकातिर जाने योजना थियो । तर, उनीहरूको सपना अहिलेका लागि भताभुंग भएको छ । १८ वर्षीय निमा पनि प्लस टु पढ्दै छन् । उनको पनि भविष्यमा ठूलै सपना थियो । तर अहिले उनी प्रहरी हिरासतमा छन् ।
लवाङ निसाना परिवार मात्र
लवाङको इन्द्रजालमा लक्ष्मीको परिवार मात्र होइन अन्य धेरै परेका छन् । लवाङले यस्तो जाल बिछ्याउँथे कि त्यो जालमा परेपछि कोही पनि उम्कन सक्दैनथे । त्यही जालमा उनले पर्वतका गणेश प्रसाद बस्याल र उनकी दिदी मालतीदेवी भट्टराईलाई पनि पारे । निर्माण व्यवसायी गणेश आफू मात्र फसेनन् दिदी मालतीदेवीलाई पनि प्रहरी हिरासतको हावा खुवाउन पठाए ।
त्यस्तै लवाङले भान्जा नाता पर्ने काभ्रेस्थलीका सञ्जय घलेलाई पनि बैंक लुट प्रकरणमा फसाएका छन् । प्रहरीले पहिले सञ्जय घलेलाई समातेको थियो । सञ्जयले प्रहरीसँग ‘मलाई माइजू पर्नेले पानस रेमिटबाट पैसा झिक्न पठाएको हो, म निर्दोष छु’ भनेपछि प्रहरी लक्ष्मीसम्म पुगेको थियो । सञ्जयको बयानका आधारमा पानस रेमिटबाट पैसा निकाल्नेहरूको रेकर्ड हेर्दा लक्ष्मीका छोराछोरी र लवाङ पनि देखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेपछि लवाङ निकै खुसी
विदेशी नागरिक काले भन्ने पिटरको बैंक ह्याक योजनामा नेपालका प्रमुख थिए लवाङ । उनी सर्लाहीका पुष्पराज खड्कासँग मिलेर जडिबुटीको काम गर्थे । कीर्तिपुरमा उनीहरूको जडिबुटी व्यवसाय थियो । छोरा–छोरी विदेश पठाएपछि लवाङ ऋणमा डुबे । उनी आफूले दिएको चेक धमाधम बाउन्स हुन थालेपछि पक्राउ परिने डरले लुकिछिपी हिँड्न थाले ।
धादिङका ‘खम्पा दाइ’ ले मुम्बईका पिटर उर्फ कालेसँग कुरा गराएपछि लवाङ बैंक लुट्ने अपराधमा लागे । प्रहरीले पक्राउ गर्नुअघि नै उनले आफ्नो ऋण तिर्न भ्याएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अब उनी पक्राउ परेकामा कुनै पछुतो मान्दैनन् । प्रहरीसँग उनले ‘यो मेरो बोनसको जिन्दगी हो !’ भनेका थिए ।
लवाङ सार्वजनिक कार्यक्रममा पनि मुखमा मास्क नलगाई देखिएका थिए । मास्क लगाउनु न भन्दा, ‘किन लगाउने ? यो मेरो अधिकार हो’ भन्दै जवाफ दिएका थिए । गल्ती गरेकामा पछुतो नमानेर निर्धक्क उभिएका लवाङ ऋण तिरिसकेपछि निकै खुसी भएका हुन् ।
कालेको कर्तुत: ५ अर्ब ह्याक गर्ने योजना, नेपालीलाई ३५ प्रतिशतसम्म कमिशन
पुलिसकै अगाडि बैंक ह्याकर एजेन्टको दादागिरी (भिडियोमा)
बैंक ह्याकर एजेन्टको जवाफ, ‘मास्क नलगाउनु मेरो अधिकार हो’





























प्रतिक्रिया